अब लोडसेडिङ तालिका कहिल्यै नआउने बताएको प्राधिकरणले फेरि निकाल्यो तालिका

Advertisement

कञ्चनपुर । अबदेखि लोडसेडिङ तालिका नआउने बताएको नेपाल विद्युत प्राधिकरणले फेरि तालिका निकालेको फेला परेको छ । प्राधिकरणको अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युत्भार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युत्भार कटौतीको तालिका सार्वजनिक गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिकरुपमा लोडसेडिङ तालिका नआउने घोषणा गरेका थिए । तर दुई वर्ष अघिदेखि हटेको विद्युत्भार कटौतीको तालिका पुनः सुरु गरिएबाट प्राधिकरणको विश्वसनीयता मै प्रश्न उठेको छ । सार्वजनिकरुपमा प्रकाशित सुचनामा दैनिक चारदेखि छ घण्टासम्म विद्युत्भार कटौती गरिने उल्लेख छ ।

तालिकाअनुसार बिहान, अपराह्न र राति गरी वाणी, पिपलाडी र झलारी फिडरमा छ घण्टा, भीमदत्तनगर, बनगाँउ, भाँसी, ऐठपुर, गड्डाचौकी र दोधारा चाँदनी फिडरमा चार घण्टा विद्युत्भार कटौती हुने जनाइएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि विद्युत्भार कटौती तालिका सार्वजनिक गरिएको छ ।

अत्तरिया बितरण केन्द्रका सतिष कर्णले भने यसलाई लोडसेडिङ तालिका सार्वजनिक गरियो भन्ने हिसावले लिन नहुने तर्क गरे । उनले भने, ‘प्राविधिक कारणले विद्युत कटौती हुने कुरा जहाँसुकै भइरहेको छ, ठूलो कुरै होइन् ।’ कर्णले विद्युत खपत बढेको र उत्पादन घटेका कारण पावरले धान्न नसकेकी विद्युत कटौती गर्नुपरेको भन्दै चाँडै उच्च क्षमताको ट्रान्सफर्मर ल्याएर विद्युत आपूर्ति सुचारु गरिने बताए ।

लालपुर १३२ केभी सबस्टेशनमा जडान गरिएको पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएकाले विद्युत्भार कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ ।

load-shedding-table

 

Advertisement

Advertisement

Advertisement