राष्ट्र बैंकको नयाँ भवन शिलान्यास, ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ भवन शिलान्यास भएको छ । भुकम्पले भत्किएको बालुवाटारस्थित राष्ट्र बैंकको भवन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भवन शिलान्यास गरेकी हुन् । आगामी ३० महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गरे । उक्त भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो ।

उनले आम नेपालीमा विश्वास र भरोसा भएको बैंकले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ ।’ राष्ट्रपति भण्डारीले भनिन्, ‘ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।’

त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले मुलुक अहिले आर्थिक क्षेत्रकै पुनःनिर्माणको चरणमा रहेको उल्लेख गर्दै सरकारले आर्थिक वृद्धिका साथै सामाजिक न्यायमा आधारित वितरणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ भने। लगानीको वातावरणका लागि सरकारले काम गरिरहेको भन्दै उहाँले मुलुकलाई विद्युतीय र बैंकिङ कारोवारयुक्त बनाउन अभियान सञ्चालन गरिएको बताए ।

अर्थमन्त्री खतिवडाले वित्तीय स्थायित्वको चरणमा मुलुक पुगेकाले मूल्यवृद्धि र व्यापार घाटा घटाउन तथा लगानीको प्रतिफल ल्याउन बैंकले प्रभावकारी भूमिका खेल्न सक्ने बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले पुनःनिर्माणले पछिल्लो समयमा गति लिएको उल्लेख गर्दै नेपालले पुनःनिर्माणका क्षेत्रमा प्राप्त गरेका उपलब्धि र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

यता बैंकका गर्भनर चिरञ्जिवी नेपालले राष्ट्र बैंकले वित्तीय क्षमतको विकास गर्दै सबै नेपालीको बैंक खाता अभियान सफल बनाउन काम गरिरहेको बताए । बैंकले हालसम्म ७३० स्थानमा नयाँ शाखा पनि विस्तार गरिसकेको उनले जनाएका छन् ।

कूल दुई अर्ब आठ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।

भवनको निर्माणको सिगो सिमानान्तर जेबी कम्पनीले जिम्मा दिईएको छ भने भवन आगामी २०७८ भदौ सम्ममा बनाईसक्ने लक्ष्य लिईएको छ ।

Advertisement

Advertisement

Advertisement