बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा

Advertisement

काठमाडौं । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ ।

निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो क्षेत्रमा कालीगण्डकी करिडोर निर्माणको काम भइरहेको छ । गलेश्वरको बेलिब्रिज खतरामा रहेकाले निर्माणाधीन अर्को बेलिब्रिज छिटो निर्माण गर्न बारम्बार दवाव दिँदै आएको तर पुल निर्माणको ठेक्का लिएको शर्मा युनाइटेड विल्डर्स जेभी काठमाडौंले सुनेको नसुन्यै गरेको स्थानीय बासिन्दाले बताए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गलेश्वरको बेलिब्रिज उच्च जोखिममा रहेकाले कुनै पनि बेला बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुने अवस्थामा रहेको बताए । उनले आयोजना प्रमुखलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको पनि जानकारी दिए।

गलेश्वरको बस्ती र पुल जोगाउन तत्काल तटबन्ध गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । “तत्काल नदी कटान नरोक्ने हो भने पुल भत्केर मुस्ताङलगायत उत्तरी म्याग्दीको यातायात सम्पर्क ठप्प हुन्छ” स्थानीयवासी मोहन केसीले भने।

Advertisement

Advertisement

Advertisement