भारतीय बिषाक्त तरकारीको विषयमा मन्त्रिपरिषद बैठकमा विवाद, परीक्षण नगरी भित्राउने तयारी

Advertisement

काठमाडौं । सीमा नाकामा तरकारी र फलफूलको विषादी परीक्षण रोक्ने निर्णयलाई लिएर मंगलबार बसको मन्त्रिपरिषद्को बैठकमा विवाद भएको छ ।

विषादी परीक्षण रोकेको विषयमा चित्त नबुझेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठक बसिरहेको बेला बीचमै बाहिरिएका थिए । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको थियो । मन्त्री यादव तरकारी र फलपूmल आपूर्ति गराउने निर्णयको प्रस्तावक हुन् ।

परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको विरोध भइरहेको समयमा मंगलबार आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो । मन्त्री यादवले ‘अर्को एउटा काम परेर’ बैठकबाट बाहिर निस्किएको जिकिर गरे । ‘काम परेकोले धेरै बेर बैठकमा नबसिकन बाहिरएको हु’ मन्त्री यादवले भने ।

बैठकमा कसैसँग कुनै विवाद नभएको पनि मन्त्री यादवले जानकारी दिए । पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै उनले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक रुपमा नै माफी मागेका थिए । सो निर्णय गर्ने बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि मन्त्रालय र आफ्नै मन्त्रालयका सचिवले आवश्यक जानकारी नदिएकोमा मन्त्री यादवले असन्तुष्टि जनाएका थिए ।

यसैबीच सरकारले अन्ततः तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्न भारतले ‘दबाबमूलक’ पत्र पठाएको स्वीकार गरेको छ ।

मंगलबार बसेको आकस्मिक बैठकपछि विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए । यसअघि सीमा नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्न भारतले कुनै पत्र नपठाएको सरकारले जिकिर गर्दै आएको थियो ।

भारतीय दूतावासले त्यस्तो परीक्षण नगर्न दबाब दिएको पत्र सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकारले पत्र पठाएको तथ्यलाई स्वीकार गर्न बाध्य भएको हो ।

दुई देशका सरकारबीच पत्रहरू आउने र जाने कुरा स्वभाविक भएको पनि बताए । ‘यसलाई अन्यथा लिनु हुँदैन ।’ उनले भने, ‘सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेष्टका विषय हुन्छ । सरकारका बीचमा पत्रहरू आउने र जाने गर्छन् । यो स्वभाविक हो ।’

उहाँले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको पनि बताए । बाँस्कोटाले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको पनि बताउँदै सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको पनि जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते सीमा नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र भित्र्याउने निर्णय गर्यो । सो निर्णय कार्यान्वयनमा आएको तीन साता नबित्दै गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय फिर्ता लिएको थियो ।

Advertisement

Advertisement

Advertisement