अविरल बर्षा सुरु भएपछि विराटनगरका अधिकांश भाग जलमग्न

Advertisement

काठमाडौं । विराटनगर गएरातीदेखि परेको वर्षाले प्रदेश एक को राजधानी विराटनगर जलमग्न भएकोे छ । मंगलबारबाट अविरल रुपमा बर्षा सुरु भएपछि विराटनगरका अधिकांश भागहरु जलमग्न भएको छ ।

विराटनगरका धेरै सडक जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।

घाम लाग्दा बेस्सरी धुलो उड्ने विराटनगरको सडक पानी परेपछि भने हिलाम्य भएको छ । सडकमा कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा समेत समस्या परेको छ ।

सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ । सडक किनार र पेटीबाट हिँड्ने पैदलयात्रीसमेत गाडीले हिलो छेप्ने डरले जोगिएर हिँड्नुपरेको छ ।

विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न हुने गरेको छ ।

धेरै स्थनमा सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडक जलमग्न हुँदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ ।

नगरको मुख्य चौक क्षेत्र महेन्द्र चौक, रोडशेष चौक, अस्पताल चौक लगायत दक्षिणी क्षेत्रका मुख्य सडक क्षेत्र र भित्री सडकहरु पानीका कारण जलमग्न बनेका छन । नगरक्षेत्र जलमग्न हुनुका साथै नगरक्षेत्रभित्र भएर बग्ने खोलाहरुको जलस्तर समेत बढेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पदबहाली गर्दा एक सय दिनभित्र विराटनगर महानगरका खाल्डा खुल्डी पुर्ने, तीन वर्षभित्र विराटनगरलाई हिलो र धुलोबाटमुक्त गर्ने घोषणा गरेका थिए । उनले एडीबी परियोजनामा निर्माणको काम अघि बढिरहेको योजनालाई तीन वर्षभित्रै सम्पन नगरी नगर क्षेत्रमा सबै तिर पक्की सडक निर्माण गरी सक्नेसमेत बताएका थिए ।

Advertisement

Advertisement

Advertisement