प्रधानमन्त्रीको निर्देशन खरेलले टेरेनन्, निगमलाई घाटा भए पनि वाइडबडी ओशाका नै उडाइने

kp-oli-madan-kharel-768x432

काठमाडौं । नेपाल वायुसेवा निगमको केही दिनअघिको बार्षिकोत्सवमा प्रधानमन्त्री केपी ओलीले निगमको नयाँ वाइडबडी जहाज जापानको ओशाका उपयुक्त गन्तव्य नभएको भन्दै टोकियोको नारिता उडान गर्न निगम व्यवस्थापनलाई निर्देशन दिए ।

निगमका कर्मचारीदेखि पर्यटन व्यवसायी र जापानमा बस्ने नेपालीहरुले समेत ओशाकामा नेपालीहरुको बसोबास न्यून रहेको र टोकियोमै अधिकांश बसोबास रहेकाले निगमको व्यवसायिक हितका लागि नारिता नै उडाउनुपर्ने सुझाव दिएअनुसार प्रधानमन्त्री ओलीले निगम व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

ss-college

वाइडबडी जहाज खरिद गर्ने क्रममा पेश गरिएको कार्ययोजनामा पनि वाइडबडी जहाज नारिता नै उडाउने योजना थियो । तर, निगममा कार्यकारी अध्यक्ष भएर आएका मदन खरेलले सुगतरत्न कंसाकारले बनाएको कार्ययोजनाअनुसार आफू किन काम गर्ने भन्दै नारिता उडानको सबै प्रक्रिया रद्द गरेर ओशाकामा बस्दै आएका एकजना गैरआवासीय नेपाली व्यापारी देवमान हिराचनसँगको साँठगाँठमा वाइडबडी ओशाका उठाउने योजना बनाए ।

ओशाका उडान सुरु गर्न तोकिएको मितिमा यात्रु नै नभेटिएपछि निगमले मिति पर सार्दै आएको छ । यो विषय निकै विवादमा परेपछि प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममै निगम व्यवस्थापनलाई वाइडबडी ओशाका होइन टोकियो उडान भनेका थिए । तर ओलीको निर्देशन अटेर गर्दै खरेलले ओशाका नै उडाउन प्रक्रिया अघि बढाएका छन् ।

निगमका उपकार्यकारी निर्देशक गणेश चन्दले प्रधानमन्त्रीको निर्देशन आए पनि ओशाका उडान स्थगित गरेर नारिता सुरु गर्ने कुरामा कुनै निर्णय भइनसकेको बताए । खरेल ओशाका उडान स्थगित गर्ने पक्षमा नरहेको उनको संकेत थियो ।

चन्दले भने, ‘पहिला जुलाई २९ मा ओशाका उडान सुरु गरेर हेरौं, त्यसपछि नारिता जानुपरे प्रक्रिया सुरु गर्न सकिन्छ ।’ व्यापारिक हिसावले ओशाका उडान ठिक नरहेको राय सुझाव सबैतिरबाट आए पनि ओशाका उडानका लागि सबै प्रक्रिया अघि बढिसकेकोले रोक्न नमिल्ने तर्क गरे । जबकी नारिताका लागि सबै प्रक्रिया अघि बढिसकेपछि खरेलले त्यसलाई रद्द गरेर ओशाका उडानका लागि प्रक्रिया सुरु गरेका थिए ।

नारितामा अधिकांश नेपालीहरुको बसोबास भएकाले कुनै पनि उडानमा घाटा नहुने विश्वास निगमको व्यवसायिक योजनामा छ । ओशाका उडान हुँदा नारिताका नेपालीहरु एक घण्टा लामो रेल यात्रा सफल गरेर जहाज चढ्न जाने अवस्था नरहने जापानमा बस्दै आएका नेपालीहरुको भनाई छ । हिराचनको व्यक्तिगत स्वार्थका लागि खरेललले निगमलाई धरासायी बनाउन लागेको भन्दै पछिल्लो समयमा निगमका कर्मचारी संगठनदेखि आम कर्मचारी रुष्ठ भएका भएका छन् ।

विगत १० महिनादेखि निगम सञ्चालक समितिदेखि पर्यटन मन्त्रालयलाई समेत अटेर गर्दै आएका खरेलले प्रधानमन्त्री ओलीलाई समेत अटेर गर्दै अघि बढे पनि उनलाई बर्खास्त गर्न सकेका छैनन् । खरेललाई हतियार तथा हाइड्रोपावरका विदेशी एजेन्ट दीपक भट्ट, मिडिया सञ्चालक रामेश्वर थापा, हिमालयन एयरलाइन्सका सञ्चालकहरुको साथ रहेकाले ओलीले उनलाई निकाल्ने आँट नगरेको हुनसक्ने अनुमान गरिएको छ ।

यात्रु नपाएर ओशाका उडान स्थगित गरेपछि काठमाडौं आएका देवमान हिराचनले असार १९ गते निगममै बसेर खरेलको कार्यकक्षमा बसी लामो कुराकानी गरेका थिए । उनीसँग त्यसअघि भेट्नुअघि खरेल ओशाका उडान पार नलाग्ने भन्दै नारिता नै उडाउन निगमका उच्च व्यवस्थापनसँग छलफल अघि बढाएका थिए । तर हिराचनसँग भेटेपछि खरेल फेरि ओशाका उडानबाट पछि नहट्ने पक्षमा पुगेको निगमका एक अधिकारीले बताए ।

त्यसपछिको बैठकमा खरेलले ओशाका उडानको लागि निर्णय भई प्रक्रिया अघि बढिसकेकोले अब घाटा लागे पनि उडान सुरु गर्नुपर्छ भन्दै प्रधानमन्त्रीले मौखिक निर्देशन दिएको भरमा उडान स्थगित गर्न नहुने बताएका थिए । प्रधानमन्त्रीको निर्देशन नटेरेबाट खरेलको पछाडि शक्तिशाली हवाई माफियाहरु रहेको संकेत मिल्छ ।

खरेल आउनुअघि नै नारिता र दक्षिण कोरियाको सोलका लागि नियुक्ति भएका जीएसएमार्फत काम गरेको भए वाइडबडीले छ महिनाअघि नै राम्रो राम्रो विजनेश पाई सञ्चय कोष र नागरिक लगानी कोषलाई नियमित किस्ता अहिले कुनै समस्या हुँदैन्थ्यो– निगमको आधिकारिक युनियनका एक पदाधिकारीले बताए । सोलमा वाइडबडी उडाउने कुरामा खरेलले त्यस्तै गरेका छन् । कोरियन एयरको स्वार्थमा सोल उडानका लागि सुरु भइसकेको प्रक्रिया रद्द गर्दा निगमलाई करोडौं रुपियाँ नोक्सान भइसकेको छ । असारसम्ममा निगमले तिर्नुपर्ने किस्ता झण्डै चार अर्ब पुग्ने निगमका कर्मचारीहरुले बताउँदै आएका छन् ।