सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्छः मन्त्री पोखरेल

Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संविधानले नै मुलुकलाई समाजवादोन्मुख उल्लेख गरेकाले सार्वजनिक शिक्षालाई समाजवादीतर्फ लैजानुपर्ने बताएका छन् । शिक्षा पत्रकार सञ्जाल र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक शिक्षामा सबलीकरणः समाजवादी शिक्षा, अवस्था, चुनौती र अबको बाटो’ विषयक कार्यशाला गोष्ठीमा उनले उत्पादनमुखी शिक्षा नै आजको आवश्यकता भएकाले अबको शिक्षा समाजवादी हुने बताए ।

मन्त्री पोखरेलले गरीब र धनीको पढ्ने शिक्षा नै सार्वजनिक शिक्षा भएकाले सिपसहितको समाजवादी शिक्षामा रुपान्तरण गरेर मुलुकको शिक्षा सुधार्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाएर २०७६ देखि २०८५ साललाई शिक्षा सबलीकरणको दशकका रुपमा लिनुपर्ने बताए ।

सार्वजनिक शिक्षा सुधार गरे मात्र मुलुकको समृद्धि हुने बताउँदै उनले अरु देशको नक्कल गरेर होइन्, आफ्नै देश सुहाउँदो शिक्षा प्रणाली लागू गर्नुपर्ने विचार व्यक्त गरे ।

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको स्वामित्व स्थानीय तहले लिएकाले अब शिक्षामा विभेद अन्त्य भएको उल्लेख गर्दै शिक्षा नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र वर्षे अधिवेशनसम्म शिक्षासम्बन्धी सबै विधेयक ल्याइने जानकारी दिए ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ‘नेपालमा समाजवादी शिक्षाको अवधारणा, आधार र भविष्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अहिलेको शिक्षा विचौलिया शिक्षा भएकाले यसमा रुपान्तरणको आवश्यकता रहेको बताए । नेपाल कम्युनिष्ट पार्टीका नेता डा गङ्गालाल तुलाधार र सांसद बद्री पाण्डेले उत्पादनमुखी, सिर्जनशील र उद्यमशीलता शिक्षा आजको आवश्यकता हो भने।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष गुरुराज घिमिरेले अहिलेको शिक्षाले मुलुकको विकासमा कुनै पनि योगदान गर्ने नभएकाले शिक्षा नीति स्पष्ट बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

अनेरास्ववियुका अध्यक्ष लेखनाथ न्यौपानेले संविधानमा समाजवादोन्मुख भने तापनि कस्तो किसिमको समाजवाद र शिक्षामा कस्तो खालको समाजवादी ल्याउने भन्नेमा राजनीतिक दलबीचनै अस्पष्ट रहेको बताए ।

शिक्षाविद् प्रा डा. विद्यानाथ कोइराला र मनप्रसाद वाग्लेले समाजवादको बहस गरे पनि अझै समान्तवादको चरित्र देखाइरहेकाले समाजवादी शिक्षा ल्याउन अझै समय लाग्ने बताउँदै स्थानीय तहमा सिपलाई उपयोग गर्ने खालको शिक्षा लागू गर्नुपर्ने र त्यही सिपबाट सिकेको शिक्षाले स्थानीय तहमा उत्पादन गर्नुपर्ने धारणा व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement