भोजपुरमा हतियारधारी समूहले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको होः आइजीपी खनाल

Advertisement

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा बुधबार बिहान भएको गोलीकाण्डबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराउँदै विप्लव समूहबाट गोली प्रहार भएपछि जवाफी फायरिङ भएको बताएका छन् ।

बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडू र डिला संग्रौलाले भोजपुर घटनाबारे जानकारी गराउन माग गरेपछि खनालले भने, ‘भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक नेत्रविक्रम चन्द समूहले गोली प्रहार गरेपछि घटना भएको हो, घटनामा प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुंगा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो ।’

गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरिएको थियो । खनालले घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लाग्नुका साथै ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको बताए ।

हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासी फायर गरेपछि प्रहरीले जवाफी फायर गरेको प्रहरीको भनाई छ । घटनामा घाइते भएका दुई प्रहरी जवानको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जनाइएको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा आफ्नो संलग्नताबारे विप्लव समूहले अहिलेसम्म केही बोलेको छैन् ।

Advertisement

Advertisement

Advertisement