सिन्धुपाल्चोकका नेताहरुलाई बोलाएर मेलम्चीलाई सहयोग गर्न खानेपानी मन्त्रीको आग्रह

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन बुधबार सिंहदरबारमा बैठक गरिएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा भएको बैठकमा सिन्धुपाल्चोकका जनप्रतिनिधि र मन्त्रालयका सचिव सहभागी थिए ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न देखिएका समस्याहरुको समाधान कसरी गर्ने ? भन्ने एजेण्डामा भएको छलफलमा पूर्वमन्त्रीहरु अग्नि सापकोटा, शेरबहादुर तामाङ, खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोपाल तामाङ र मेलम्ची खानेपानी आयोजना विकास समितिका उपकार्यकारी निर्देशक रामचन्द्र खरेल सहभागी थिए ।

गत डिसेम्वरमा आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीले काम छोडेपछि आयोजना अलपत्र हुन पुगेको थियो । विभिन्न सरकारले यसअघि नै बनिसक्ने दावी गर्दै आए पनि अहिलेसम्म अन्योलमा रहेको छ ।

गत जेठ ६ गते मन्त्रिपरिषद बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक कामकाज गर्न मेलम्ची आयोजना विकास समितिलाई निर्देशन दिएसँगै आयोजनाले जेठ १७ गते निर्माणको बाँकी काम सम्पन्न गर्न टेण्डर आव्हान गरेको थियो । तर, पूरानो ठेकेदार कम्पनी सिएमसीले कामदार, ढुवानीकर्ता र सह–ठेकेदारहरुलाई दिनुपर्ने भुक्तानी नदिएको भन्दै स्थानीयले आयोजनाको काम अवरुद्ध गरेपछि आयोजनाले मेलम्ची खानेपानी सिएमसी भुक्तानी, अवरोध, अध्ययन तथा सहजीकरण कार्यदल गठन गरेको थियो ।

गत असार ९ गते गठन गरिएको कार्यदललाई सिएमसीले काम छोडेपछि उत्पन्न समस्याको पहिचान र समाधानका लागि सुझाव दिन कार्यादेश तोकिएको थियो । सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित कार्यदलमा मेलम्ची नगरपालिकाका प्रमूख डम्बर बहादुर अर्याल, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, ह्यासिमेस साउका सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङ, क्रशर उद्योग व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष किरण थापा, सिएमसीका मानव श्रोत संशाधन प्रमूख देवीरमण अधिकारी, मेलम्ची आयोजनाका उपकार्यकारी निर्देशक रामप्रसाद खरेल, पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष महेश श्रेष्ठ, सप्लायर्स प्रतिनिधि विष्णुमणि आचार्य, मजदुर प्रतिनिधि कुमार दुलाल र शिवराम भट्टराई सदस्य थिए ।

कार्यदलले असार १९ गते मेलम्ची खानेपानी विकास समितिलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आयोजनाको पृष्ठभूमि, कार्यदलको कार्यादेश, मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था, नयाँ ठेक्का प्रक्रिया एवं सिएमसीसँग भएका सम्झौता र गतिविधि, मजदुर तथा श्रमिकहरुका माग, आन्दोलित आपूर्तिकर्ताको माग तथा अनुरोध, आपूर्तिकर्ताहरुलाई सिएमसीले भुक्तानी गर्नुपर्ने रकम, मजदुर तथा श्रमिकलाई भुक्तानी गर्नुपर्ने रकम, मेलम्चीमा रहेका यन्त्र, उपकरण र मेसिनहरुको विवरण र अवस्था, मौज्दाज रहेका निर्माण सामग्री, मेलम्ची आयोजनाको वास्तविकता, मेलम्ची विकास समितिलाई सुझाव र कार्यदलको सिफारिस लगायतका विषय समेटिएका छन् ।

सिएमसीले मेलम्ची आयोजनाको काम छोडेपछि उत्पन्न समस्या समाधानका लागि कार्यदलले सुझाव दिएको छ । सोही सुझावका आधारमा समस्या समाधान गर्न भन्दै मन्त्री मगरले बुधबार बैठक बोलाएकी हुन् । बैठकमा सहभागी नेताहरुले मेलम्ची आयोजनामा देखिएका समस्या समाधानमा आफूहरु सहयोगी हुने बताएका थिए ।

बैठकमा मन्त्री मगरले मेलम्ची आम नेपालीहरुको सरोकार र राष्ट्रिय गौरवको आयोजना भएकाले आयोजनाको बाँकी काम तीव्रताका साथ सम्पन्न गर्न आफू लागिरहेको जानकारी गराइन् । उनले आयोजनाको निर्माण कार्यमा देखिएको असहजता हटाउने काममा आवश्यक सहयोग गर्न बैठकमा सहभागी नेताहरुलाई आग्रह गरिन् ।

बैठकले आयोजनालाई बिना अवरोध समयमै सम्पन्न गर्नका लागि कार्यदलको प्रतिवेदनका सुझावहरुलाई आधार मानी समस्या समाधानका लागि आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने निर्णय गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement