बिषादी प्रकरण र विकासका काम सुस्त भएको विषय समीक्षा गर्न प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिवलाई

kp-oli-ministers-secretari

काठमाडौँ । भारतीय दबाबमा बिषादीयुक्त तरकारी तथा फलफूलको गुणस्तर परीक्षण रोकिएको बिषय चर्किएपछि प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रालय र मन्त्रालयका सचिवहरुलाई सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएका छन् ।

उक्त विषयलाई लिएर पछिल्लो समय सरकारमाथि सडकदेखि सदनमा आलोचना भएपछि ओलीले सबै मन्त्री र सचिवहरुलाई बोलाएका हु्न । उनले आफ्नो मन्त्रालयको प्रगति विवरण लिएर आउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबारदेखि सुरु भएको समीक्षा बैठकमा भारतबाट आयातित तरकारीको बिषादी परीक्षणदेखि राष्ट्रिय गौरवका आयोजनाहरुको फितलो कार्यान्वयन अवस्थाबारे प्रधानमन्त्री ओलीले एक एक गरेर प्रगति खोज्ने जनाइएको छ ।

बिहान साढे ११ बजेबाट सुरु भएको बैठक अहिले जारी छ । बैठकमा मन्त्री तथा सचिवहरुलाई राखेर प्रधानमन्त्रीले प्रगति समीक्षा गरिरहेका छन् । अघिल्लो वर्षको नीति तथा कार्यक्रमसँग जोडेर मन्त्रालयलले के कति काम गर्यो ? सो को प्रगति थाहा पाउने उद्देश्यले बैठक बसेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।