काबेली करिडोर प्रसारण लाइन निर्माणमा ‘नियोजित अवरोध’ गरियोः प्राधिकरण

Advertisement

काठमाडौं । काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्ट्रक्सन कम्पनीले काममा लगाए व्यक्तिहरुले निर्माण पाँच दिनदेखि अवरोध गरेको जनाइएको छ ।

भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको तर भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन् ।

प्रसारण लाइनको फिदिम (थापाटार)–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमीटर प्रसारण लाइनमा करिब दुई किलोमीटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्ड संचालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२÷३३÷११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा छन् । तेस्रो खण्ड असारभित्रमा संचालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।

कोबेली करिडोर प्रसारण लाइनमा जोडिने जलविद्युत आयोजनाका प्रवद्र्धकले प्रसारण लाइनको आफैं पेटी ठेक्का लिएर नियोजित रुपमा निर्माणमा ढिलाइ गरिदिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई छ । उनका अनुसार प्राधिकरणले प्रसारण लाइनको निर्माण सक्ने तर आफ्नो निर्माण सकेर उक्त लाइनमा विद्युत् जोड्न नसकी जरिवाना तिर्नु पर्ने अवस्था आएपछि उनीहरुले नियोजित रुपमा काममा अवरोध गरेको देखिन्छ ।

पलाञ्चोक भगवती कन्ट्रक्सन रैराङ हाइड्रोपावर डेभलप्मेन्टको आयोजना निर्देशक कुवेरमणी नेपालको कम्पनी हो । रैराङले पाँचथर र ताप्लेजुङको सीमानामा पर्ने इवाखोलामा ९.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको विद्युत कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिने छ । प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नु पर्ने मिति (आरसिओडी) अगामी १ साउनमा छ ।

यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना जोडिने छ । प्राधिकरणसँग पीपीए अनुसार आयोजनाको आरसिओडी गत ९ वैशाख हो । अरुण कावेलीको अध्यक्ष गुरुप्रसाद न्यौपाने रैराङको पनि कार्यकारी निर्देशक हुन् ।

दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैले काम लगाएका व्यक्तिहरुलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्धिवेदीले बताए । उनले समस्या समाधानका लागि पहल भइरहेको उल्लेख गरे ।

पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।

कावेली करिडोर प्रसारण लाइन निर्माण करिव १० वर्ष अघि सुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध,रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो ।

तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलित ऋणमा निर्माण भएको हो ।

Advertisement

Advertisement

Advertisement