लगातारको बर्षाले विराटनगर डुवानमा, अस्पतालभित्रै पानी पसेपछि बिरामीसमेत समस्यामा

Advertisement

विराटनगर, बाजुरा । लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन्। कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन्।

विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ। ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो। अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन्।

अस्पतालको मुख्य प्रदेशद्वारादेखि नै शुरू भएको डुबान मर्मतसम्भार शाखा र इलेक्ट्रिक कन्ट्रोल प्यानलमा पनि पानी चुहेर पस्दा कर्मचारी असुरक्षित अवस्थामा काम गर्न बाध्य छन्। यसभन्दा पहिला पनि पानी चुहेर इलेक्ट्रिक कन्ट्रोल प्यानल रुममा आगलागी भएको थियो। अस्पतालका विभिन्न वार्डमा पानी चुहिएको छ भने अस्पताल फोहोर भएको छ। बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खोलेर अस्पताल भित्र–बाहिर गर्नुपर्ने अवस्थामा देखिन्छन्।

अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालदेखिको पानी कोशी अस्पतालमा छिरेको छ। ढलको निकास छैन भने सडकको पानीसमेत अस्पतालमा छिर्दा अस्पतालभित्र पानी जमेको हो। विराटनगरमा विगत तीन दिनदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिन निरन्तर वर्षाको सम्भावना छ। यस सम्भावनाले विराटनगरवासीलाई थप त्रस्त बनाएको छ।

यसैबीच, त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ। पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै आएको छ। बुधबार साँझबाट निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम बढेको छ। बूढीगंगा नदी थुनिँदा नदीकिनार आसपासका जनता त्रसित छन्। साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दूरीका यातायातका साधन बल्देमै रोकिएका छन्। सडक तलबाट पहिरो जान थालेकाले बस बल्देमै रोक्नुपरेको बस व्यवसायीले बताए। बल्देबाट सदरमुकाम मार्तडीसम्म करिब १७ किलामिटर बाटो साना सवारीसाधान प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

वर्षात्का कारण मार्तडीदेखि ताप्रिसेरासम्म पहिरोका ढिस्का खसेको छ। ढुंगा माटो पन्छ्याउँदै यातायातका साधन पास भएका छन्। सदरमुकाम मार्तडी आउने यातायातभन्दा बढी सदरमुकाम छोडेर सुरक्षित सडक क्षेत्रमा जाने यायातका साधानको संख्या बढी देखिन्छन्। सदरमुकाम मार्तडी माथितिर चल्ने यातायातका साधान पनि बुधबारदेखि बन्द भएका छन्। सुदूरपश्चिमकै सुप्रसिद्ध तीर्थस्थ बडिमालिका जाने मूलबाटो पहिरोमा परेको छ भने करोडौं मूल्य बराबरको वन–जंगल नाश भएको छ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement