कम्प्युटर बजारमा छाएको मन्दी हट्ने संकेतः तीन महिनामा छ करोड ३० लाख थान कम्यूटर बिके

Advertisement

काठमाडौं । विश्व कम्प्युटर बजारमा पछिल्लो छाएको मन्दी केही हट्ने संकेत देखिएको छ । झण्डै आधा वर्षसम्म गिरावट झेलिरहेको पर्सनल कम्प्युटर बजारमा पछिल्लो त्रैमासिकमा चाहीँ १ दशमलव ५ प्रतिशतको बढोत्तरी देखिएको छ ।  सन् २०१९ को दोश्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जूनसम्मको अवधिमा विश्व बजारमा ६ करोड ३० थान पर्सनल कम्प्युटर बिक्री भएका छन् । यो गत वर्षको सोही अवधिको भन्दा डेढ प्रतिशतले बढी हो ।

रिसर्च फर्म गार्टनरले सार्वजनिक गरेको रिपोर्टअनुसार गत वर्ष सन् २०१८ को दोश्रो त्रैमासिकमा विश्वमा ६ करोड २० लाख थान कम्प्युटर बिक्री भएका थिए । गार्टनरका वरिष्ठ अधिकारीका अनुसार यो अवधिमा डेस्कटप पर्सनल कम्प्युटरको बिक्रीमा उल्लेख्य बढोत्तरी भएको छ भने मोबाइल पर्सनल कम्प्युटरको बिक्री चाहिँ घटेको छ । सन् २०१९ को दोश्रो त्रैमासिकमा विन्डोज १० रिफ्रेसका कारण पर्सनल कम्प्युटरको बिक्रीमा बढोत्तरी देखिएको हो ।

साथै पछिल्लो समयमा इन्टेल कम्पनीले उत्पादन गर्ने सिपियुमा देखिएको अभाव हटेका कारण पनि पर्सनल कम्प्युटरको उत्पादन तथा बिक्रीमा सकारात्मक परिवर्तन आएको बताइएको छ । चीन र अमेरिकाबीचको व्यापार युद्धले दोश्रो त्रैमासिकको पर्सनल कम्प्युटर बजारमा असर नपारेको भएपनि आगामी दिनमा चाहीँ प्रभाव पर्नसक्ने आशंका गरिएको छ ।

यदि अमेरिकाले चीनमा उत्पादित कम्प्युटरहरुको आयातमा कर वृद्धि गरेमा त्यसले कम्प्युटरको मूल्य बढ्ने र बजार प्रभावित हुने विश्लेषकहरुको भनाइ छ । हाल बजारमा प्रचलितमध्ये धेरै ल्यापटप कम्प्युटर अनि ट्याबलेटहरु चीनमा उत्पादन भएर अमेरिका लगायतका विश्व बजारमा आपूर्ति हुने गरेको छ ।

सन् २०१९ को दोश्रो त्रैमासिकको तथ्यांकअनुसार विश्व पर्सनल कम्प्युटर बजारमा लेनोभो २५ प्रतिशत हिस्सासहित पहिलो स्थानमा रहेको छ । त्यस्तै एच पी २२।२ प्रतिशतसहित दोश्रो र डेल १६।९ प्रतिशतसहित तेश्रो स्थानमा रहेका छन् । त्यस्तै चौथो स्थानमा रहेका एप्पलको हिस्सा ५।९ प्रतिशत छ भने एसर ५।४ प्रतिशत सहित पाँचौ स्थानमा र एसुस ४।९ प्रतिशत सहित छैटौँ स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement