झाको तर्क– रौतहट डुवाउने नेपाल सरकार हो, भारत होइन्, राहतका लागि भारतीय राजदूतसँग कुरा हुँदैछ

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा झाले भने, ‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन् ।’

उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । झाले भने, ‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ उनले अहिले पनि ठूलो संख्यामा बाढि तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाई राखे ।

सरकारको विपद व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आए पनि अहिलेसम्म राहतको घोषणा नभएकोले तत्काल बैठकका निर्णयहरु सार्वजजिनक गर्न पनि उनले सरकारलाई आग्रह गरे । झाले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढि पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए । उनले थपे, ‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन् । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।’

उनले आफ्नो पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने बताए । झाले रौतहतका बाढि पीडितका लागि भारतीय राजदुतसँग पनि कुरा गरिरहेको छु । प्रधानमन्त्रीजीसँग कुरा हुन पाएको छैन । तर, आज मात्रै पनि गृहमन्त्रीलाई फोन गरेर विशेष ध्यानाकर्षण गराएको छु ।’

फरक प्रसँगमा झाले आफूहरुले सदनमा उठाएका एजेण्डाहरुको सम्बोधन नभएसम्म सदन अवरुद्ध राख्ने जनाए । त्यस्तै, उनले ईस्युका आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सदन र सडकमा सहकार्य जारी राख्ने स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement