बाढि पहिरो पीडितलाई काँग्रेस साँसदले एक महिनाको तलब दिने, राहत र उद्दारमा सरकार सुस्तः पौडेल

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढि, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी हात फुकाएर सहयोग गर्छौं । राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं ।’ पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजतिमात्रै नभएर त्यो भन्दा अझै धेरै संख्या रहेको सुनाए । उनले भने, ‘अहिले जनधनको क्षतिको पूर्ण विवरण आएको छैन् ।’

सरकारले बाढि तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा त्यसमा ढिलाई भइरहेको उनको गुनासो छ । पौडेलले भने, ‘पीडितको राहतको लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ । ढिला भैसक्यो । २० दिनपछि राहत दिएर हुँदैन् ।’

पीडितहरुको उद्धार तथा राहतमा सबैले स्वयमसेवी ढंगबाट परिचालित हुन आवश्यक रहेको पनि पौडेलको भनाई छ । उनले भने, ‘हामीले नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छौं । हामीले आफ्नो संगठनात्मक क्षमता अनुसार परिचालन गरिरहेका छौं । कसरी जाने भन्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल जारी छ ।’

पौडेलले असार, साउनमा त सधैं बाढि, पहिरोको जोखिम र खतरा रहेको जान्दाजान्दै पनि सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए । उनले थपे, ‘असार र साउनमा बाढि र पहिरो आउँछ भन्ने कुरा त सरकारलाई थाहा छ नि, तर पनि यसको व्यवस्थापनमा हामी किन लाग्दैनौं । दिर्घकालिन रुपमा यसको समाधान खोज्नुपर्छ । यसको लागि जोखिमपूर्ण वस्ती राम्रो ठाउँमा सार्नुपर्छ । जनताको पक्षमा जोसुकैसँग पनि कुरा गर्न आँट हुनुपर्छ ।’ उनले नेपालबाट गर्नुपर्ने कामहरु तत्काल गर्नुपर्नेमा सरकारले त्यो पनि नगरेको गुनासो पोखे ।

यसअघिका सरकारले त बाढि, पहिरो व्यवस्थापनमा ठोस कदम चाल्न नसके पनि अहिलेको दुई तिहाई बहुमतको सरकारले पनि दिर्घकालिन योजना बनाएर व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ । पौडेलले भने, ‘पूर्वाधारमा के के गर्नुपर्छ ? तटबन्ध निर्माण गर्नुपर्ने हो कि ? वा अन्य आवश्यक के के गर्नुपर्ने हो ? त्यो सबै गर्नुपर्छ । यसमा ढिलाई गर्नुहुँदैन् ।’

फरक प्रसँगमा उनले वर्तमान सरकारले अत्यधिक धेरै गलत काम गरेको आरोप लगाए । पौडेलले भने, ‘यो सरकार अहिले नांगिएर प्रस्तुत भएको छ । प्रधानमन्त्रीलाई महत्वपूर्ण कुरै थाहा हुँदैन, अनि सार्वजनिक रुपमा माफी माग्नुहुन्छ । खुलेआम भ्रष्टाचार भएको छ । कतिसम्म भने भ्रष्टाचारीलाई यही सरकारले संरक्षण गरेको छ ।’

Advertisement

Advertisement

Advertisement