व्यक्तिगत सुचनाको गोपनियता राख्न नसकेको भन्दै फेसबुकलाई साढे पाँच खर्ब जरिवाना

Advertisement

वासिङ्टन । तथ्यांकको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई हालसम्मकै धेरै जरिवाना हुने भएको छ। तथ्यांकको गोपनियताको उल्लंघन विषयमा अनुसन्धान गरेको अमेरिकी नियामकले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर अर्थात् साढे पाँच खर्ब नेपाली रुपैयाँ जरिवाना तिराउन अनुमति दिएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

क्याम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्यांक प्राप्त गरेको मुद्दामा अमेरिकाको संघीय व्यापार आयोग (एफटिसी)ले अनुसन्धान गरिरहेको छ।

एफटिसीमा यस सम्बन्धमा मतदान हुँदा तीनका विरुद्ध दुई मतले फेसबुकलाई जरिवाना तिराउने निर्णय भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्। यस विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको फेसबुक र एफटिसी दुवैले बताएका छन्।

फेसबुकले तथ्यांकको गोपनियता कायम राख्न नसकेको विषयमा उपभोक्ता संरक्षण निकाय, एफटीसीले सन् २०१८ को मार्च महिनामा अनुसन्धान सुरु गरेको थियो। फेसबुकले सन् २०११ को एउटा सहमति भंग गर्यो वा गरेन भन्नेमा अनुसन्धान केन्द्रित थियो। सो सहमतिअनुसार फेसबुकले कुनै पनि तथ्यांक अरुलाई दिँदा प्रयोगकर्तालाई जानकारी दिनुपर्ने र उनीहरूबाट सहमति लिनुपर्ने प्रावधान रहेको छ।

‘एफटिसीमा सत्तारुढ रिपब्लिकन समर्थक फेसबुकलाई पाँच अर्ब डलर जरिवाना लगाउनुपर्ने पक्षमा र डेमोक्र्याट विपक्षमा रहेका थिए,’ ‘द वाल स्ट्रिट’ जर्नलमा प्रकाशित समाचार उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। अन्य समाचारमा प्रयोग भएका स्रोतले पनि सोही जानकारी प्रदान गरेको बताइएको छ। फेसबुकलाई जरिवाना लगाउने निर्णय देशको न्याय मन्त्रालयले स्वीकृत गर्नुपर्ने छ। निर्णय कहिलेसम्म स्वीकृत गर्नुपर्छ भन्न्ने विषय भने अस्पष्ट भएको जनाइएको छ।

जरिवानाबारे समाचार बाहिरिए पनि फेसबुक र एफटिसीले दुवैले यो विषयलाई पुष्टि गरेका छैनन् र यस विषयमा कुनै टिप्पणी नगर्ने बताएका छन्। तर जरिवाना रकम फेसबुकले अनुमान गरेकै जति भएको बताइन्छ। फेसबुकले गत अप्रिलमा आफ्ना शेयरधनीहरुलाई ठूलो जरिवानाको लागि त्यतिनै रकम छुट्टाएर राखेको बताएको थियो। फेसबुकलाई जरिवाना तिराउने विषय अमेरिकी न्याय मन्त्रालयले स्वीकृत प्रदान गरेको अवस्थामा कुनै पनि प्रविधि कम्पनीमाथि एफटिसीले लगाएको सबैभन्दा ठूलो जरिवाना हुनेछ। फेसबुकका लागि भने यो रकम वार्षिक नाफाको एक चौथाइभन्दा केही धेरै भएको बिबिसीले उल्लेख गरेको छ।

के हो क्याम्ब्रिज एनालिटिका काण्ड ?
बेलायतको राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले राजनीतिक लाभका लागि गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरुको सूचना लिएको आरोप लागेको थियो। उसले ती विवरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्याउन प्रयोग गरेको बताइन्छ।

सो संस्थाले ती तथ्यांक एउटा प्रश्नोत्तरको माध्यमबाट संकलन गरेको थियो। सो प्रश्नोत्तरमा सहभागी फेसबुक प्रयोगकर्ता र उनीहरुको सबै साथीहरुको तथ्यांक संकलन गर्न मिल्ने गरी सो प्रश्नोत्तर बनाइएको थियो। फेसबुकले हाल बन्द भएको सो कम्पनीसँग आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्यांक भएको बताएको थियो। सो काण्ड बाहिरिएपछि फेसबुकमाथि बारेमा धेरै देशमा अनुसन्धान सुरु भएको थियो। यसअघि बेलायतमा क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकको भूमिकालाई लिएर पाँच लाख पाउन्ड जरिवााना गरिएको थियो। त्यो बेलायतको डेटा (तथ्यांक) नियामक निकायले असुलेको अधिकतम जरिबाना थियो। यसैबीच लगानीकर्ताहरुले फेसबुकमाथिको जरिवानालाई सकारात्मक ढंगले लिएका छन् र फेसबुकको शेयर १.८ प्रतिशतले उकालो लागेको छ। यद्यपित केही डेमोक्र्याट सांसदहरुले भने जरिवाना रकम थोरै भएको भन्दै यसको आलोचना गरेका छन्।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement