यति एयरलाइन्सको विमान मर्मतपछि सञ्चालनमा आउने

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको एटिआर–७२ विमान मर्मतपछि पुनः सञ्चालनमा ल्याइने भएको छ ।

यही २७ गते शुक्रबार नेपालगञ्जबाट काठमाडौँ आएको चालक दलका सदस्यसहित ६६ यात्रु सवार उक्त विमान धावनमार्गमा चिप्लिएर करीब १०० मिटर पर धाँसेमैदानमा धस्सिएको थियो । नेपाली सेना, नेपाल प्रहरी, विमानस्थलका प्राविधिकलगायतको टोलीले झण्डै आठ घण्टाको प्रयासपछि जहाजलाई तानेर विमानस्थलको पूर्वी तर्फको रिमोट पार्किङमा लागिएको थियो ।

विमानको प्राविधिक परीक्षण गरी आवश्यक मर्मतपछि पुनःसञ्चालनमा ल्याइने यति एयरलाइन्स वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिए । उनले विगतमा पनि धावनमार्गबाट चिप्लिएका विमान प्राविधिकले मर्मत गरेपछि सञ्चालनमा ल्याइने गरेको बताए ।

अहिलेको विमानमा धेरै समस्या नपरेको तर, यतिकै इञ्जिनियरले विमानको सबै पाटपूर्जा परीक्षण गरेपछि अवस्था हेरेर सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । मौसमले साथ दिएपछि यति एयरलाईन्स इञ्जिनीयरले उक्त विमानको प्राविधिक परीक्षण र मर्मतको काम आजबाट थालेका छन् ।

आवश्यक परेमा जहाज निर्माता कम्पनीका इञ्जिनीयर झिकाएर भए पनि विमानको मर्मत गरिने प्रबन्धक राईले बताए। यतिको विमान मर्मतपछि सञ्चालनमा आउने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । ‘अहिलेको विमानमा धेरै क्षति भएको देखिन्न । विमानको पाटपूर्जा हेरेर सामान्य मर्मतपछि सञ्चालनमा आउनेछ,’ उनले भने ।

महाप्रबन्धक क्षेत्रीको अनुभवमा विगतमा यस्ता प्रकृतिका ९विमान चिप्लने र धस्सिने० घटनाका कतिपय विमान नचलेका उदाहरण पनि छन् । विमानको मर्मत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पुरा गरेपछि पुनः सञ्चालनमा आउनेछ । विमानको क्षति कति भएको त्यसको प्राविधिक प्रतिवेदनका आधारमा विमान सञ्चालनमा आउने प्राधिकरणको हवाई सुरक्षा विभागका एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार हालै रामेछापमा भएको तारा एयरको विमान पनि धावनमार्गबाट चिप्लएपछि त्यसलाई कर्कत गरि केही दिनभित्रै सञ्चालनमा ल्याईएको हो ।

Advertisement

Advertisement

Advertisement