मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ९० प्रतिशत उद्योग बन्द

Advertisement

काठमाडौं । अविरल वर्षाका कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ९० प्रतिशत उद्योग बन्द भएका छन् । वर्षाको पानी औद्योगिक क्षेत्रमा पस्दा सो क्षेत्रका ३५० मध्ये तीन सयभन्दा बढी उद्योग बन्द भएका हुन् ।

बाढीले महोत्तरीको बर्दिवासमा पुल भत्किएका कारण  उद्योगको उत्पादन देशको पश्चिमी भूभागमा पठाउन नसकिएको उद्योगीले बताएका छन् । उद्योगी–व्यवसायीले एक हप्ताको अवधिलाई व्यावसायिक संकटको अवस्था भनेका छन् । सुनसरीमा बूढीखोला र टेंग्राखोला उद्योग नजीकै रहेका छन् भने मोरङको कटहरी औद्योगिक क्षेत्रमा लोहन्द्रा र जुडी खोलाको पानी पसेको छ । कुनै उद्योगमा खोलाको पानी पसेर र कुनैमा निकास नभएर समस्या आएको हो ।

औद्योगिक क्षेत्रका प्रिमियर वायर, पायोनियर वायर, महालक्ष्मी केबुल, क्वालिटी बिस्कुट, क्वालिटी सोप, क्वालिटी नुडल्स, क्वालिटी रिफाइनरी, आरती स्ट्रिप्स, हुलास वायर, रिलायन्स स्पिनिङ, श्रीराम रिफाइनरी, एशियन थाई फुड्स, पशुपति खाद्य तेल उद्योग लगायतका सयौं उद्योग पानीका कारणले बन्द छन् । उद्योग संगठन मोरङका कार्यकारी सदस्य विपीन काबराका अनुसार कटहरी औद्योगिक क्षेत्रनेर रहेको सार्वजनिक पैनी मासेर घर बनाउँदा र खेती गर्दा खोलाको पानी उद्योगमा पसेको हो ।

खोलामा आवश्यक बाँध बनाउन र अतिक्रमण गरेर बनाएका बस्ती हटाउन स्थानीय प्रशासनदेखि प्रदेश सरकारलाई समेत आग्रह गरे पनि बेवास्ता गरिएको उनले बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले पानीका कारण उद्योगहरू बन्द भइरहँदा सरकारी पक्ष मौन रहेको आरोप लगाए ।

लगातारको वर्षाका कारण प्रदेश–एक मा १६ जनाको मृत्यु भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बाढी र डुबानबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्ने आइतवार प्रदेश संसद्मा जानकारी दिए । उनले विस्थापित परिवारको उचित क्षतिपूर्ति र राहतको व्यवस्था पनि प्रदेश सरकारले कानून अनुरूप गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement