सर्पको टोकाइदेखि सरुवा रोगबाट बच्न चिकित्सकको सुझाव

Advertisement

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सक तथा विज्ञले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन्।

खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने चिकित्सक तथा विज्ञहरू बताउँछन्। पर्याप्त सावधानी नअपनाए सर्पदंशका साथै पानीबाट सर्ने सरुवा रोगहरूको उच्च जोखिम रहने उनीहरूको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालस्थित क्लिनिकल युनिटका संयोजक डा। शेरबहादुर पुनका अनुसार वर्षायाममा पानीजन्य सरुवा रोगको सङ्क्रमण फैलने सम्भावना बढी हुन्छ। रोगकै नाम लिनुपर्दा झाडापखाला, टाइफाइड, हैजा र लेप्टोस्पिरोसिस हुने जोखिम रहन्छ, उनले भने।

चिकित्सकहरूका अनुसार पानीको स्रोतमा प्रदूषित पानी मिसिने भएकोले र पानी निर्मलीकरणका यथेष्ठ विकल्प नहुँदा वर्षाका बेला पानीबाट फैलने रोगको जोखिम बढी हुने गर्छ।

रोकथाम तथा बच्ने उपाय
चिकित्सकहरूका अनुसार पानीजन्य रोगबाट बच्नका लागि आफूले खाने र खाना पकाउने पानीमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

सरसफाइमा ध्यान पुर्‍याए ७० देखि ८० प्रतिशत रोग रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन्। उमालेको अथवा निर्मलीकरण गरेको पानी मात्रै पिउने । खाना खानुअघि र शौचालय गएपछि साबुन तथा पानीले हात धुने

तरकारीहरू राम्रोसँग पखालेर राम्ररी पकाएको खाने

पिउने पानीका स्रोतहरूलाई सफा राख्ने

जनावरका सिनोको उचित व्यवस्थापन गर्ने, बस्तीदेखि पर गाड्ने

सर्पदंशको समस्या
प्राणीशास्त्री करण शाहका अनुसार बर्खायामका बेला सर्पहरू पानीबाट निस्केर बाहिर आउने भएकोले अरू बेलाको तुलनामा अझ बढी सजग हुनुपर्ने हुन्छ।

जमिनमुनि बस्नेदेखि पानीमा रहनेसम्मका सर्प पनि श्वास फेर्न बाहिर आउनुपर्ने भएकोले उनीहरू सुक्खा ठाउँमा आउँछन्। त्यो भएर मानवसँग जम्काभेट हुने सम्भावना पनि बढी हुन्छ, उनले भने।

त्यसबाहेक बिच्छीको टोकाइबाट पनि ज्यान जाने सम्भावना रहेकोले त्यसप्रति पनि सचेत हुनुपर्ने शाह बताउँछन्।

सर्पले टोकेको एक घण्टाभित्र अस्पताल पुर्‍याउन नसके बिरामीको ज्यान तलमाथि हुनसक्ने सम्भावना बढ्ने भएकोले अस्पताल पुर्‍याउनुपर्ने उनको सुझाव छ।

शाहका अनुसार विषालु सर्पको प्रकार अनुसार तिनले टोकेपछि ढिलो वा चाँडो लक्षण देखिने भएकोले लक्षण थाहा पाउने नाममा अस्पताल जान ढिलो गर्नु हुँदैन।

सर्पदंशबाट कसरी बच्ने
राति वा दिउँसो सुत्दा झुलभित्र सुत्ने

घरमा सर्प लुक्ने सक्ने ठाउँको पहिचान गर्ने

राति हिँड्दा टर्च बालेर हिँड्ने

सर्पले टोकिसकेपछि जतिसक्दो चाँडो बिरामीलाई अस्पताल पुर्‍याउने।

Advertisement

Advertisement

Advertisement