उत्पत्तिको प्रमाणपत्र अनलाइनबाट जारी गर्ने कार्यको शुभारम्भ, समय र श्रमको समेत बचत हुने

Advertisement

काठमाडौं । अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बुधबार संयुक्तरूपमा शुभारम्भ गरेका छन् ।

उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघ बीचको लामो अभ्यास पछि अबको एक महिना (भदौ १ गतेदेखि) ललितपुर उद्योग वाणिज्य संघबाट शुरुवात गर्नेगरी महासंघको सचिवालयमा सफ्ट लन्च गरिएको हो ।

नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएको छ । कार्यक्रममा सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको समेत बचत हुन गई व्यवसाय लागतमा समेत कटौती हुन गई व्यापार विस्तारमा सहयोग पुग्ने बताए ।

महासंघकी अध्यक्ष भवानी राणाले अनलाइन प्रणालीबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र कानूनीरूपमा समेत मान्य हुने बताइन् । जहाँसुकै बसेर पनि उत्पत्तिको प्रमाणपत्रको विवरण भर्न तथा जारी गर्न सकिने भन्दै उनले मन्त्रालयबाट समेत यसको अनुगमन गर्न र वस्तु निकासीको तथ्यांक सहज तरिकाबाट उपलव्ध हुने भएकाले यसको महत्व अझ बढ्ने बताइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले डिजिटल नेपालको अवधारणालाई अगाडी बढाई सकेको पृष्ठभूमिमा अनलाईनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थाले सो अवधारणालाई एक कदम अगाडी बढाएको बताए । उनले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइनमा लगेपछि राष्ट्रिय एवं अन्तर्राष्टिय रूपमा समेत फाइदा पुग्ने बताए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, भंसार विभागका निर्देशक मुक्तिराम आचार्यलगायतले बोलेका थिए । अनलाइन प्रणाली निर्माण कम्पनी मण्डला सिस्टम प्रालिका प्रवन्ध निर्देशक विप्लवमान सिंहले सो प्रणालीको प्रयोग सम्बन्धमा जानकारी गराए ।

एनले अनलाइन प्रणालीमा गएपछि महासंघ, उत्पत्तिको प्रमाण पत्र जारी गर्ने निकाय तथा भन्सार कार्यालयबीच सम्पर्क कायम रहने, पेपरलेस हुने भएकाले भन्सार लगायत कार्यालयहरूमा समेत उत्पत्तिको प्रमाण पत्र बुझाइरहन आवश्यकता नहुने, अनलाइनबाटै हेर्न सकिने, उत्पत्तिको प्रमाण पत्र भर्ने क्रममा एक पटक प्रविष्ट भैसकेपछि पुनः उत्पादक, वस्तु, हार्मोनाइजेशन कोड एचएस कोड लगायतको जानकारी सजिलै प्रविष्ट हुने बताए ।

Advertisement

Advertisement

Advertisement