इन्जिनियर दिवसमा २० हजार इन्जिनियरहरुको बीमा गरिने

Advertisement

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले शुक्रबार र शनिबार मनाउन लागिएको ५७औं इन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको छ । दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले इन्जिनियर दिवसको विशेष कार्यक्रमको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने जानकारी दियो ।

प्रदर्शनीमार्गस्थित् राष्ट्रियसभा गृह र काठमाडौं बाहिर प्रदेश राजधानीस्थित एशोसिएसनका प्रादेशिक कार्यालयहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, हेटौंडा, जनकपुर र विराटनगरमा समेत कार्यक्रमहरु गरी उक्त दिवस मनाउन लागिएको एशोसिएसनका अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले जानकारी दिए ।

उनले इन्जिनियर समुदायको तर्फबाट समाज तथा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्याएका इन्जिनियर–आर्किटेक्ट तथा संस्थालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड (पाँच जना सदस्यहरुले संयुक्त सिफारिश गरि पठाउनुपर्ने), डिस्टिङग्युस्ड अन्टरप्रन्युरसिप अवार्ड, सहिद ई. नवराज बिष्ट स्मृति अवार्ड, आउटस्ट्याण्डिङ् युथ प्रोफेशनल अवार्ड, आउटस्ट्याण्डिङ वुमेन ईन्जिनियर अवार्ड, र ईन्जिनियर्स एप्रिसिएशन अवार्ड गरि विभिन्न ६ विधामा अवार्ड पनि प्रदान गरिने एशोसिएसनले जनाएको छ । अवार्डको लागि स्वतन्त्र समितिले नाम छनौट गरिरहेको र भोलि दिवसकै दिन सार्वजनिक गर्ने अध्यक्ष बज्राचार्यले बताए ।

एशोसिएसनले विकासका कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकारसम्पन्न बनाउन सरकारले काम गर्नुपर्ने पनि माग गरेको छ । बज्राचार्यले जबसम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिदैन, तबसम्म मुलुकको पूर्वाधारलगायत आर्थिक तथा सामाजिक विकास संभव नभएको जिकिर गरे ।

एशोसिएसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरहरु देशको महत्वपूर्ण जनशक्ति भएकोले उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘यो पेशा जोखिमयुत्त पेशा हो ।’ उनले भोलिको कार्यक्रममा नै २० हजार इन्जिनियरहरुको सामूहिक दुर्घटना बीमा गरिने पनि जनाए । त्यस्तै, उनले इन्जिनियरिङ सेवा ऐनपनि आउन लागेकोमा खुशी व्यक्त गरे ।

राज्यले इन्जिनियरहरुलाई विश्वास र साथमा लिएर काम गर्नुपर्ने पनि उनले बताए । बज्राचार्यले सरकारले बजेट र नीति तथा कार्यक्रममा पनि ईन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्ने भनिसकेकोले त्यसमा खुशी व्यक्त गरे ।

एशोसिएनका अनुसार २० हजार ईन्जिनियरको गरिने दुर्घट्ना बीमा नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरिने भएको हो । विमांक १० लाख रहनेछ भने प्रिमियम ५० लाख तिर्नुपर्नेछ । तर, आफूहरुको चाहना बीमा दाबी गर्न नपरोस भन्ने रहेको पनि अध्यक्ष बज्राचार्यले सुनाए । अहिलेलाई एशोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।

Advertisement

Advertisement

Advertisement