खोटाङ र इटहरीबाट लोकसेवाको परीक्षा बिथोल्न खोज्नेहरु समातिए

Advertisement

काठमाडौं । लोकसेवा आयोगको परीक्षा बिथोल्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खोटाङ, इटहरीलगायतका ठाउँमा परीक्षा बिथोल्न खोज्नेहरुलाई पक्राउ गरेको हो । स्थानीय तहका लागि भन्दै आयोगले नौ हजारभन्दा बढि कर्मचारीको पदपूर्ति गर्न विज्ञापन गरेपछि आरक्षणवादीहरुले त्यसको विरोध गर्दै आएका छन् ।

परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा शनिबार बिहान चार जनालाई पक्राउ गर्यो । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो ।

दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा विथोल्ने प्रयास गरेकाले उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । विरोधमा उत्रिएकाहरुले परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने जस्ता काम गरेकाले पक्राउ गरिएको जनाइएको छ ।

समावेशी र समानुपातिक व्यवस्था विपरीत आयोगले विज्ञापन खुलाएको भन्दै आरक्षण पक्षधर जनजाति, मधेसी, दलितहरुले विरोध जनाउँदै आएका छन् । सरकारले भने नियमानुसार नै विज्ञापन गरिएको भन्दै परीक्षा कुनै पनि हालतमा स्थगित नहुने जनाएको छ । सर्वोच्च अदालतले पनि यो परीक्षालाई अघि बढाउन मार्ग प्रशस्त गरिदिएको छ ।

आजै, इटहरीमा लोकसेवाको विज्ञापनको विरोधमा उत्रिएका आदिवासी जनजाति संघका १५ जना कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रदेश १ बन्द आह्वान गर्दै शनिबार इटहरी चोकमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई पक्राउ गरिएको हो । बन्दको आव्हान गरिए पनि यसको प्रभाव खासै देखिएको छैन् भने परीक्षा निर्वाधरुपमा सञ्चालन भएको आयोगले जनाएको छ । असन्तुष्ट पक्षले स्थानीय विकासमन्त्री लालबाबु पण्डितको पनि चर्को आलोचना गर्दै आएको छ । पण्डितले कुनै पनि हालतमा लोकसेवाको विज्ञापन नरोकिने अडान राख्दै आएका थिए ।

Advertisement

Advertisement

Advertisement