उदयपुरमा बाढीपीडितलाई राहत वितरण

Advertisement

उदयपुर । उदयपुर जिल्लाको सबैभन्दा बढी बाढीपीडित क्षेत्र बन्न पुगेको बेलका नगरपालिका वडा नं १ र २ का पीडित परिवारका लागि बेलका नगरपालिका र जिल्लाका विभिन्न गैरसकारी सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् ।

शनिबार उदयपुर प्रदेश नं १ का प्रदेशसभा सदस्य, नेपाल रेडक्रस र बेलका नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा तपेस्वरी तथा आम्वासी क्षेत्रका दुई दर्जन बाढीपीडित घरपरिवारका लागि राहत वितरणकार्य सम्पन्न भएको छ । बेलका नगरपाकिाका अनुसार जिल्ला रेडक्रसको अगुवाइमा आम्वासी र तपेश्वरी क्षेत्रका बाढीपीडितका लागि चामल, तेल, दाल, चिनी चिया, भाँडाकुँडासहित झुल वितरण गरिएको छ ।

बाढीपीडितका लागि लत्ताकपडा र ओढ्ने ओछ्याउने कपडासमेत व्यवस्था गरिएको बेलका नगपालिकाका मेयर दुर्गाकुमार थापाले बताए । बेलकाका बाढीपीडितमध्ये झण्डै सयाँ घरपरिवार घरबार विहीन हुन पुगेका कारण उनीहरुका लागि नगरपालिकाले बस्ने घरसमेत तत्कालै बनाउन पहल शुरु गरिसकेको नगरप्रमुख थापाले बताए ।

तपेश्वरी क्षेत्रमा १० दिनअघि आएको बाढीले झण्डै ४०० हेक्टर क्षेत्रफलको धानबाली नष्ट बनाएका कारण बेलका नगरपालिकाले पुनः धान रोप्न धानको बीउसमेत उपलब्ध गराउन लागेको छ ।

यो क्षेत्रमा पहिलोपटक राहत वितरणकार्य शुरु गरिएको र अब दोस्रो र तेस्रो चरण गरेर राहत वितरण गरिँदै जाने जिल्ला रेडक्रस उदयपुरका अध्यक्ष विनोद बस्नेतले बताए।

Advertisement

Advertisement

Advertisement