नेपालमा आगामी तीन वर्षमा मोनोरेल संचालन हुने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याउने बताएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम’ बारे आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी संचालनमा ल्याउने उल्लेख भएको बताए ।

त्यसैगरी, नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथलगायतका क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । यस्तै हनुमानढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा लगिने र महानगरपालिकाभित्र रहेका ऐतिहासिक, पुरातात्विक भवनलाई सिटी आर्टस्को रुपमा रुपान्तरण गरी अध्ययन र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्ने महानगरले जनाएको छ ।

प्रवक्ता डंगोलले प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तारका लागि आगामी २ वर्षभित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।

ज्येष्ठ नागरिकहरूलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि सञ्चालनमा ल्याउने महानगरपालिकाको योजना छ। त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको प्रवक्ता डंगोलले बताए । त्यसैगरी, सहरको मुख्यमुख्य चोकहरुमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तरगत हाईमास बत्ती जडान गर्ने कार्यक्रम पनि चालू आर्थिक वर्ष भित्र संचालनमा ल्याउने गरी तय गरिएको पनि प्रवक्ता डंगोलले बताए ।

काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गर्न उपत्यकाभित्र छिर्ने नाकामा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी भेईकल क्लिनिङ सेन्टर निर्माण गर्ने जनाएको छ ।

यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउन्ड पार्किङ’ को अवधारणा तय गरि कार्यान्वयनमा ल्याउन थालिएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।

Advertisement

Advertisement

Advertisement