इसेवामा खाता खोल्नेको संख्या २० लाख नाघ्यो, मर्चेन्टको संख्या २५ हजारभन्दा माथि

Advertisement

काठमाडौं । नेपालको लोकप्रिय पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको सो ब्राण्डले जनाएको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि इसेवामा एकाउन्ट खोल्नेको संख्या तीब्ररूपमा बढ्दै गएको इसेवाको भनाई छ ।

साथै इसेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको जनाएको छ । सन् २००९ सुरुवातबाट सेवा सुरू गरेको इसेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको भन्दै सो कम्पनीले इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको जनाएको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत् रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या ह्वात्तै बढेको उसको दावी छ ।

पान पसलदेखि ठूला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई आफूले आक्रामक रूपमा बढाउँदै लगेको इसेवाको भनाई छ । इसेवाका सञ्चालन अधिकृत रोशन लामिछाने भन्छन्, ‘हामीले डिजिटल ट्वान्टी–ट्वान्टी भन्ने महत्वाकांक्षी योजना अगाडी सारिरहेको अवस्थामा इसेवामा मात्र खाता खोल्नेको संख्या २० लाख पुग्नुले अत्यन्त खुसी तुल्याएको छ । यसबाट हामी क्यासलेस सेसाइटी निर्माणको बाटोमा नजिक–नजिक पुगिरहेका छौँ भन्ने थप पुष्टि भएको छ ।’

Advertisement

Advertisement

Advertisement