ओरालो लाग्दै नेपालगञ्जका होटल व्यवसाय

Advertisement

नेपालगञ्ज । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ ।

नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएका पाँच तारेसहितका सुविधा सम्पन्न होटल मुलुकको सङ्घीय संरचनाका कारण ओरालो लाग्न थालेको होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले बताए ।

नेपालगञ्जमा भएका अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था, सरकारीस्तरका महत्वपूर्ण कार्यालयलगायतका व्यापारिक प्रतिष्ठान प्रदेश नं ५ को राजधानी बुटवल र कर्णाली प्रदेशको राजधानी सुर्खेत जाने क्रम बढेसँगै नेपालगञ्जको होटल व्यवसाय धरायशी बन्दै गएको उनको भनाइ छ ।

झण्डै एक दशकयता नेपालगञ्जमा पाँचतारे, चार तारे र तीनतारेसहित दर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । उनका अनुसार एक दशकयता नेपालगञ्जमा ठूला होटल व्यवसायमा झण्डै रु पाँच अर्ब लगानी भएको छ । साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका ठूला होटल व्यवसायीलाई राज्यको नयाँ शासकीय संरचनाले झस्काएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले उनीहरुलाई पिरोल्न थालेको छ ।

‘पुरानो संरचना हुँदासम्म होटल भरिभराउ हुन्थे, नयाँ संरचनापछि त प्रायः होटलका कोठा खाली हुने गरेका छन् । सरकारी तथा गैरसरकारी निकायका कार्यक्रमले भरथेग हुने अवस्था पनि अब रहेन,’ नेपालगञ्जस्थित होटल इन्द्रेणीका सञ्चालक घनश्याम थापाले भने ।

अर्कोतर्फ, नयाँ सुविधा सम्पन्न होटल थपिँदै गएपछि सञ्चालनमा रहेका पुराना होटललाई भने व्यवस्थापन खर्च धान्न मुस्किल परेको अवस्था छ । ‘अन्य व्यापारबाट कमाएको धन होटल व्यवसायमा लगानी गर्ने अस्वस्थ प्रतिस्पर्धाले नेपालगञ्जको होटल व्यवसाय कतै धरापमा पर्ने त होइन भन्ने चिन्ता बढाएको छ,’ होटल व्यवसायी सङ्घ प्रदेश नं ५ का अध्यक्ष काफ्लेको भनाइ छ ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली क्षेत्रको रारा र शे–फोक्सुण्डो ताल, प्यूठानको स्वर्गद्वारीलगायतका पर्यटकीय क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटक यदाकता आउने भएकाले होटल व्यवसायीलाई केही राहत मिलेको व्यवसायीको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement