सभापति देउवाले भने: सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्यो

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको दूरसञ्चारसम्बन्धी विधेयकमार्फत् टेलिफोन प्रयोगकर्तामाथि गर्न लागिएको कडाइप्रति कडा आपत्ति जनाए ।

३७ औं वीपी स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले टेलिफोनबाट गाली बेइज्जती गरे कारबाही गर्ने बहाना बनाएर सरकारले नागरिकको गोपनियताको हक माथि धावा बोल्न लागेको आरोप लगाए । उनले अभिव्यक्ति स्वतन्त्रता र मिडिया काउन्सिल विधेयकमार्फत प्रेस स्वतन्त्रता हनन गरी सरकार अधिनायकवादी बाटोमा लागेको बताए ।

सभापति देउवाले वीपीले स्वतन्त्रता र राष्ट्रियताका लागि ठूलो लडाईं लडेको भन्दै केपी ओली नेतृत्वको सरकारले ल्याएका यस्ता स्वतन्त्रता र मौलिक हक अधिकारविरुद्धको विधेयक संसद्बाट कुनै हालतमा पारित हुन नदिने भन्दै आवश्यक परे सडक संघर्ष थाल्ने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका बारेमा वीपीले धेरै वकालत गरेको भन्दै उनले अंकिकार गरेको प्रणालीअन्तर्गत नै अहिलेको शासन प्रणाली स्थापना भएको बताए । शासन प्रणाली सही भए पनि वर्तमान शासक परिवर्तनको खिलापमा रहेकाले व्यवस्था मजबुत बन्न नसकेको, उनले भने, कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पुराना राजनीतिज्ञ ढुण्डीराज शास्त्रीलगायतकाले वीपीको राजनीतिक योगदानको चर्चा गरे ।

Advertisement

Advertisement

Advertisement