माथिल्लो तामाकोसीको ठाडो सुरुङमा २७.५ मीटर पेनस्टक पाइप जडान

Advertisement

गोंगर (दोलखा) । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७.५ मीटर पेनस्टक पाइप जडान गरिएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा२० मीटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मीटर पेनस्टक पाइप जडान गरिएको हो ।

लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान सुरु गरिएको थियो । ३७२ मीटर लामो तल्लो पेनस्टक साफ्टमा अब ५ मीटर लम्बाई र २७ टन तौल भएका अब ७० वटा पाइप जडान गर्न बाँकी छ । माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३१० मीटर हो ।

नेपाल विद्युत प्राधिकरणले आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समय तालिका भित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएको छ ।

जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट ७६ मेगावाट र त्यसपछि बाँकी ५ युनिटबाट आगामी असार भित्रमा विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशन अनुसार प्रधिकरणले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएको छ । मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।
तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङ लगायतका काम गर्न ३६५ घण्टा लागेको थियो । अहिले चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ ।

२०७२को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर, लट २को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको अपर तामाकोसी हाइड्रोपावरका सिइओ विज्ञानप्रसाद श्रेष्ठले बताए । आयोजनाको विद्युत् गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।

Advertisement

Advertisement

Advertisement