तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठनको मान्यता

Advertisement

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तिलगंगा आँखा प्रतिष्ठानलाई आफ्नो सहकार्य केन्द्र (कोल्याबोरेटिङ सेन्टर) को मान्यता दिएको छ । डा. सन्दुक रुइतले स्थापना गरेको प्रतिष्ठानको २५ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलरको उपस्थितिमा सहकार्य केन्द्र मान्यताको घोषणा गरिएको हो ।

यो डब्लुएचओको सहकार्य केन्द्रको मान्यता पाउने नेपालको पहिलो आँखा अस्पताल हो।  संगठनले प्रतिष्ठानको तीन मुख्य विधाः आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम अर्थात आँखाको प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धानमा सहकार्य केन्द्रको मान्यता दिएको हो।

२५ औं वार्षिकोत्सव समारोहमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले तिलगंगाका संस्थापक डा. रुइतले उपचार क्षेत्रमा चमत्कारिक काम गरेको भन्दै प्रशंसा गरेका छन्। डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,’ ओलीले भने,‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन सफल भएको छ।’

डा.रुइतको प्रयासमा अन्धोपनका धेरै बिरामीहरुले नयाँ उज्यालो संसार देख्न पाएको प्रधानमन्त्री ओलीको भनाइ छ। तिलगंगा आँखा अस्पतालको प्रेरणाबाट धेरैले सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनु पर्ने ओलीले बताए। स्थापनाको २५ वर्षमै धेरै उपलब्धी हासिल गर्न सकेको भन्दै प्रधानमन्त्री ओलीले रुइत र अस्पताललाई बधाई दिए।

प्रतिष्ठानले आँखा स्वास्थ्यको विशिष्ट सेवाहरूमा आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा,आँखाको प्लाष्टिक सर्जरी, बाल आँखा, रिफ्याक्टिभ लेजर सर्जरी, आँखाको क्यान्सर साथै सामुदायिक आँखा सेवामा विशिष्ट तालिम प्राप्त नेत्र विशेषज्ञद्धारा सेवा प्रदान गरिरहेको छ।

Advertisement

Advertisement

Advertisement