भ्रष्टाचार सिस्टेमिक रोग हो, व्यक्तिलाई समातेर जति कारवाही गरे पनि घट्नेवाला छैन्

bhim-upadhyay

विश्वमा नेपालभन्दा भ्रष्ट देश करिब ८० वटा छन् । नेपालभन्दा भ्रष्ट देशले नेपालभन्दा राम्रो विकास गरेका पनि छन् । नेपालभन्दा स्वच्छ देशले नेपाल जति पनि विकास गर्न नसकेका पनि छन्। भ्रष्टाचारका घटना र विकासबीच त्यस्तो प्रत्यक्ष सम्बन्ध छैन् । कम भ्रष्ट देशका जनता खुशी हुने गर्छन्। भ्रष्टाचार हुन्छ वा होला भनेर विकासअमैत्री क्रियाकलाप गर्न हुँदैन । काममा बाधा हाल्न हुँदैन। भ्रष्टाचार गर्नेलाई जुनकुनै बेला पनि सजाय दिलाउन सकिहालिन्छ, भागेर कतै जाने अवस्था छैन अहिलेको विश्वब्यापिकरणको युगमा।

नेपालमा उल्टो हावा मात्र चल्छ। बरू विकास–सिकास नभए नहोस्, तर भ्रष्टाचार गर्न पाईदैन। विकास मारो गोली, शंका लाग्नासाथ भ्रष्टहरूको हातमा नेल हालिहालियोस्। भोको रोगले मरे मरोस् तर भ्रष्टाचार गर्न पाईदैन। हामी भोकै मर्न परोस्, दुख पाए पाऔं तर अरू कसैले भ्रष्टाचार गर्न नपाओस्।

जति उफ्रे पनि कोही भोकै मर्न चाहन्न । मर्दैन । न भ्रष्टाचार रोकिन्छ। मर्नपर्ने गरी भ्रष्टाचार रोकेर के काम ? यसलाई किन रोक्ने ? मर्नका लागि । मर्न नपरोस् र भ्रष्टाचार पनि नहोस्ः विकास निर्वाध होस् र भ्रष्टाचार पनि नहोस् । काम नरोकियोस् तर काममा संलग्न भ्रष्ट कालान्तरमा नउम्किउन्।

भ्रष्टाचार सिस्टेमिक रोग हो, व्यक्तिको रोग होइन। डाक्टरले रोगलाई हो ठिक पार्ने । रोगीलाई हैन। सिस्टमले भ्रष्टाचारलाई हो ठिक पार्ने । भ्रष्टलाई होइन। रोगबाट बाच्न नसक्ने परिवेश बनाएपछि रोगी कहॉबाट उम्रन्छ ?

लामखुट्टे वा झिंगा मारेर तिनको उन्मूलन भएको छ र ?
भ्रष्ट वा घूसखोर पक्डेर भ्रष्टाचारी वा घूसखोर घटेको हुन्छ र ?
यी दुबै प्राणी उस्तै हुन्।

वातावरण अनुकूल वा प्रतिकूल हुँदा यिनको बृद्धि वा न्युनिकरण आफै हुने गर्छ। एक एक झिंगालाई प्याट प्याट मारेर दिन बित्ला, हात दुख्दा तर तिनको संख्या पुनः भोलि बढ्ने गर्छ। घूसखोर पक्डदा उ त फस्ला । तर, अरू थुप्रैले नयॉ नयॉ जुक्ति निकालेर झन् उन्नत घूसखोरी र घुसखोर बढ्दै जाने हुन्छ। भ्रष्टाचार नियन्त्रणमा ईकोलोजिकल समाधान गर्न दिमाग चाहिन्छ ।

होहल्ला, हाटहूट, ताली पड्काई, वाहवाह, छिःछिः, दूरदूर गरेर यस मामला केही कुनै लछारपाटो लाग्दैन, सिन्को भॉचिनेवाला छैन। थुप्रैले गोब्राउँदै गईरहने र एकाध जनाले त्यो गोबर सोहर्दै गएर पनि कतै कहीं सफाई हुन्छ र ?

भ्रष्टाचारका प्रमूख ५ पात्रः यिनका संयुक्त मिलोमतोले मात्र ठूल्ठूला भ्रष्टाचार हुने गर्छन्। यिनहरू बिचको नेक्सस नतोडेसम्म भ्रष्टाचार कम हुन संभव नै हुँदैनः

१. नेता,
२. बाबू (कर्मचारी),
३. लाला (व्यापारी वा निजी क्षेत्र),
४. झोला (गैरसरकारी संगठन),
५. दादाः (डन वा गुण्डा)

नेपालमा घूस र भ्रष्टाचारलाई नैतिक प्रश्न र अनैतिक चरित्रको रूपमा मात्र चर्चा गरिन्छ र व्यक्तिलाई आक्षेप लगाउँदै दुत्कारिन्छ।

भ्रष्टाचार नहुन वा नगर्न राज्यले के के योजना, कार्यक्रम र क्रियाकलाप गरेको छ ? जसबाट ब्यक्ति बढी नैतिकवान हुन सकोस, ईमानदार बनोस्, उसको घरपरिवारको खर्च चलोस्, उसको जीवन आर्थिक रूपले सुदृढ र सम्मानित बनोस्, खराब, गुण्डा, डन माफिया तत्वबाट उसलाई जोगाउन सकियोस्, स्थानीय नेताहरू संलग्न रहेर विकास निर्माण र सेवा क्षेत्रमा लुट मच्चाईरहेको वर्तमान परिवेशमा उसमाथि झूठा आरोप लगाई हातपात गर्ने, कालोमोसो दल्ने, सार्वजनिक बेईज्जति वा अपमान गर्ने, सारा टोलका मान्छे र मिडिया उचालेर उसको ज्यानमाथि धावा बोल्ने, व्यक्ति आफू असुरित हुने जस्ता परिवेश वा घटनाबाट कसरी सुरक्षा दिईन्छ ?

फिल्डमा काम गर्नेको सुरक्षाको प्रतिभूति कसरी दिईन्छ ? गलत काम गर्दिन भन्नेलाई कसरी सम्मानित गरिन्छ ? उसको यथोचित पारिश्रमिक कति रहन्छ ? केन्द्रमा रहेका डेढ दर्जन निकायका कर्मचारीहरूलाई ५० देखि सय प्रतिशत थप भत्ता दिईदा प्राविधिक वा अन्य प्रत्यक्ष सेवा गर्ने कर्मचारीलाई किन केही दिईन्न ?

यी गंभीर बिषय हुन्। भ्रष्टाचार प्रणालीगत बढी र नैतिक कम भएको मुद्दा हो । तर, यसका विरूद्ध होहल्ला बढी, काम शून्य रहँदै आएको छ। चिच्याउँदैमा जसरी शारीरिक रोग ठिक हुँदैन, त्यसैगरी सामाजिक संस्थागत सार्वजनिक भ्रष्टाचारको रोगको रौं पनि हल्लिएको छैन । हल्लिदैन । हल्लिनेवाला पनि छैन। यो झन् झन् बढ्दै जाने छ, जति जति सरकारी बजेट, प्रोजेक्ट वा गतिबिधि बढ्दै जानेछ।

झिंगा वा लामखुट्ट्ले टोक्न आउँदा तिनलाई झापड हानेर मारे पनि त्यतिले झिगा र लामखुट्टे नघटे जस्तै एकाध सयलाई पक्डेर मुद्दा चलाउँदैमा भ्रष्टाचारका घटना कम हुने कुनै गुन्जायस हुदैन । प्रतिवेदन र तथ्यांकले यही देखाईरहेको छ। नेपाल विश्वमा भ्रष्टतम् मुलुकभित्र विगत २–३ दशकदेखि पर्दै आएको छ। यस्तो हुनु कतै हाम्रो दण्डहीन, जवाफदेहीरहीत र उत्तरदयीत्वबिहीन अराजक लोकतान्त्रिक व्यवस्थाकै साईड ईफेक्ट त हैन ?

उपाध्याय पूर्वसचिव हुन् ।