सिसडोलबासीलाई खुसीको खबर ! असोजदेखि काठमाडौंको फोहर नफालिने

काठमाडौं । आगामी असोज महिनादेखि काठमाडौं उपत्यकाको फोहर सिसडोल ल्याण्डफिल साइटमा नफालिने भएको छ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा फोहर फाल्नका लागि पूर्वाधार तयार हुने भएकाले असोजदेखि सिसडोल क्षेत्रमा फोहर फ्याक्नु नपर्ने स्पष्ट पारेको छ ।
हाल लुम्बिनी–कोशी–न्यौपाने जेभीले बञ्चरे डाँडामा पूर्वाधार निर्माणको ठेक्का पाएर धमाधम काम गरिरहेका छन् । ‘छिटोमा भदौ ढिलोमा असोज महिनादेखि बञ्चरे डाँडामा फोहर फाल्नका लागि पूर्वाधार तयार हुन्छ, त्यसपछि सिसडोलमा फोहर फाल्नु पर्दैन’, शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद दुवाडीले कर्पोरेट नेपालसँग भने । मन्त्रालयले ३८ करोडको ठेक्का लगाएर बञ्चरे डाँडामा पूर्वाधार निर्माण प्रक्रिया अघि बढाएको हो । त्यसको शिलान्यास शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले गरेका थिए ।

सिसडोलमा ४३२ रोपनी जमिनमा फोहर फालिँदै आएको छ । ३ वर्षका लागि भन्दै सिसडोलमा फोहर फाल्न सुरु गरिएको थियो । तर एक दशक भन्दा बढी समय बितिसक्दा समेत हालसम्म अर्काे विकल्प खोज्न सकिएको थिएन् । सिसडोलबासीले पटक पटक आन्दोलन गरेर फोहरको उचित व्यवस्थापन तथा उचित क्षतिपुर्ति र पुनस्थापनाको माग गर्दै आएका थिए ।