‘हाइब्रिड कार’ किन विश्वभर लोकप्रिय बन्दैछ ?

Advertisement

काठमाडौं । हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि काम गर्दछ ।

त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात, कहिले ब्याट्रिको मात्र खपत हुन्छ भने कहिले ब्याट्रिको साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । ब्यट्रिले मात्र इन्जिनमा शक्ति पुर्याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।

हाइब्रिड कार परम्परागत कार जत्तिकै चलाउन सहज हुन्छ । यसको शक्तिमा कुनै सम्झौता गरिराख्नु नपर्ने भएकाले यो कार आज संसारमा प्रमुख रोजाइमा पर्दै आएको छ । यसमा चालकले आफ्नो आवश्यकता वा बाटोको प्रकृति हेरी कारलाई कुन मोडमा चलाउनु पर्ने हो ? सो कुरा आफै तय गर्न सक्छन् ।

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर ब्याट्रिमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा काइनेटिक इनर्जी खेरा जान्छ । तर, हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको ब्याट्रि चार्ज हुन्छ ।

हाइब्रिड इन्जिनका विभिन्न प्रकारहरु हुने गर्दछन् । तीमध्ये प्यारलल हाइब्रिड, प्लग इन हाइब्रिड, सिरिज हाइब्रिड, माइल्ड हाइब्रिड, स्मार्ट हाइब्रिड हाल प्रयोगमा आइरहेका छन् ।

हाइब्रिड कारका आफ्नै विशेषताहरु हुन्छन् । यसमा इन्धनको मूल्य वृद्धिले यसलाई खासै असर गर्दैन भने यसले कार्बन उत्सर्जन पनि न्यून मात्रामा गर्ने हुँदा वातावरणमा पनि यसले ठूलो योगदान दिन्छ । प्रत्येक वर्ष विश्वको तापक्रम बढदै गईरहेको वर्तमान अवस्थमा यस्ता कारहरुले निश्चय नै ठूलो योगदान पुर्याउने हुँदा आज विश्वका हजारौं बैंज्ञानिकहरुले यस्ता कारहरुमा अझ बढी गहिरो अन्वेषण गर्दै आएका छन् ।

ब्रेक लगाउँदा उत्पन्न हुने काइनेटिक इनर्जीले ब्याट्रि चार्ज हुने यसको प्रमुख विशेषता हो । त्यसैगरी यस्ता कारहरुको निर्माण गर्दा हलुका कच्चा सामग्रीहरुको प्रयोग गरिएको हुन्छ । अर्थात, हलुका भएका कारण यस्ता कारहरुले कम इन्धन खपत गर्दछन् । यस्ता कारहरुको दिन प्रतिदिन माग बढ्दै गईरहेकोले उच्चतम मूल्यमा रिसेल गर्न पनि सहजै सकिन्छ ।

कुनै पनि कुराको सकारात्मक तथा नकारात्मक दुवै पक्ष हुनेहुँदा हाइब्रिड कारका कही नकारात्मक पक्षहरु पनि रहेका छन् । हाइब्रिड कारका नकारात्मक पक्षभन्दा सकारात्मक पक्ष बढी भएको हुँदा आज संसारमा यस्ता कारहरुको उत्पादन वृद्धि हुँदै गइरहेको छ भने यस्ता कारहरुको प्रविधिमा हजारौं अन्वेषण एवं खोज अनुसन्धान हुँदै आइरहेका छन् । यसले गर्दा आगामी दिनहरुमा हाइब्रिड कारका सकारात्मक पक्ष एवं विशेषताहरु अझै बढ्दै जाने देखिन्छ ।

पेट्रोलियम पदार्थको स्रोत क्रमशः घट्दै गईरहेको वर्तमान अवस्थामा यस्ता कारहरुले निश्चय नै ठूलो योगदान पुर्याउने विश्वास अटोमोवाइल व्यवसायीदेखि उपभोक्तासम्मको विश्वास छ । त्यसैले विश्वमा यस्ता कारहरुको खरिदमा सरकारले समेत सहुलियत प्रदान गर्दै आएका छन् । नेपाल सरकारले पनि यस्ता कारहरुमा सहुलियतको नीति पनि अघि सारेको छ ।

Advertisement

Advertisement

Advertisement