मौद्रिक नीतिबारे बैंकरको प्रतिक्रियाः हामी सुरक्षित रह्यौं, उत्साहित भयौं

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले बैंकरहरुले सुरक्षित महशुस गरेको बताएका छन् । फोर्स मर्जरबाट पछि हटेर प्रोत्साहनको व्यवस्था ल्याएपछि बैंकरले आफुहरु सुरक्षित रहेको र उत्साहित भएको बताएका हुन् । बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले फोर्स मर्जरको नीति नलिएर प्रोत्साहन गर्नु राम्रो कदम भएको बताए ।

उनले बैंक तथा वित्तिय संस्थाहरुमा रहेको क्रस होल्डिङका सवालमा अख्तियार गरिएको नीतिले भने फोर्स मर्जरको संकेत गरेको बताए ।‘मर्जरका लागि प्रोत्साहन गर्ने कुरा राम्रो छ, क्रस होल्डिङ रहेका संस्थाहरुलाई भने मर्जरमा जान निर्देशिका बनाउने भनिएको छ, यो पनि आफैंमा राम्रो कुरा हो’, ढुंगानाले भने ।

उनले मौद्रिक नीतिले बैंकरहरुलाई उत्साहित बनाएको पनि बताए । डेभलपमेन्ट बैंकर्स एसोसियनका अध्यक्ष तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले पनि मौद्रिक नीतिले विकास बैंकहरु उत्साहित रहेको बताए ।‘विकास बैंकहरुको अस्थित्व माथी नै प्रश्न गर्न थालिएको थियो, मौद्रिक नीतिले हाम्रो अस्थित्वलाई स्वीकार गर्यो, हामी खुसी छौं’, अध्यक्ष ढकालले भने ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष तथा गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले पनि मौद्रिक नीतिको प्रशंसा गरे । उनले मौद्रिक नीतिले सबैलाई खुसी बनाउने प्रयास गरेकाले फाइनान्स कम्पनीहरु दुःखी हुनुपर्ने कारण नरहेको बताए । ‘मौद्रिक नीतिले फाइनान्स कम्पनीहरुका लागि कुनै अप्ठेरो व्यवस्था ल्याएको छैन्, बरु राम्रै गरिदिएको छ’, तुलाधरले भने ।

Advertisement

Advertisement

Advertisement