पाँच जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी मात्रै

Advertisement

काठमाडौं । पाँच जिल्ला कार्यक्षेत्र रहने गरी तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भयो ।

तनहुँ सहित गोरखा, लमजुङ, मनाङ र नवलपुरको जिम्मेवारीसहित २०७५ साल कात्तिक १५ गते डिभिजन कार्यालय दमौलीमा स्थापना भएको हो । ती पाँच जिल्लाको खाद्यान्न अनुगमन गर्ने जिम्मेवारी पाएको डिभिजन कार्यालयमा भने जम्मा दुई जना कर्मचारी कार्यरत छन् । दुई जनामध्ये एक कार्यालय प्रमुख हुन् भने अर्का कार्यालय सहयोगी । कर्मचारी अभावमा कार्यालयले सोचे जस्तो काम गर्न सकेको छैन ।

यद्यपि तनहुँ जिल्लामा भने कार्यालयले बेलाबेलामा अनुगमन गर्ने गरेको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिए । दुई जना प्राविधिकसहित चार जनाको दरबन्दी रहेको कार्यालयले कर्मचारी अभावमा तनहुँबाहेक अन्य चार जिल्लामा अनुगमनको काम गर्न नसकेको बरालले बताए ।

“पाँच जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमुना सङ्कलनको काम गर्ने जिम्मेवारी कार्यालयलाई भएपनि कर्मचारी अभावमा समस्या भोग्नुपरेको छ,” बरालले भ भने, तनहुँ सदरमुकाम दमौलीका केही होटल र उद्योगहरुको अनुमगन गरिए पनि एक/एक पटक गोरखा र लमजुङ पुग्नेबाहेक अन्य काम गर्न सकिएको छैन ।” बरालका अनुसार नवलपुर र मनाङमा भने एक पटक पनि अनुगमन भएको छैन ।

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहत रहेको कार्यालय दमौलीको एक घरमा भाडामा सञ्चालित छ । “जुन उद्देश्यका साथ डिभिजन कार्यालय स्थापना भएको हो, कर्मचारी अभावमा उद्देश्य अनुसारको काम गर्न सकेका छैनौँ , बरालले भने “कर्मचारी दरबन्दीको विवरण सम्बन्धित ठाउँमा जानकारी गराए ।”

प्रमुख पर्यटकीय गन्तव्य रहेको तनहुँ, लमजुङ, गोरखा र मनाङमा धेरै होटल रहे पनि ती सबै होटलको अनुगमन गर्न नसकिएको बरालले बताए । यद्यपि जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय र होटल व्यवसायी सङ्घसँगको समन्वयमा दमौलीमा बेला–बेलामा अनुगमन हुने गरेको उनले जानकारी दिए ।

तनहुँका प्रजिअ रुद्रप्रसाद पण्डितले पाँच जिल्लाको खाद्य अनुगमन गर्ने जिम्मेवारी तोकिएको कार्यालयमा कर्मचारी नभएका बारेमा सम्बन्धित ठाउँमा जानकारी गराइसकिएको बताए ।

Advertisement

Advertisement

Advertisement