जाजरकोटमा चार दिनदेखि नेपाल टेलिकमका सबै सेवा बन्द

Advertisement

जाजरकोट । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा स्थानीय हैरान छन् ।

नेपाल टेलिकमको चरम लापरवाहीका कारण स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

टावरको कभरेज कम हुँदा सबै  मारमा

टावर आए पनि नेपाल टेलिकमको सदरमुकामस्थित टावरबाट करीब एक किमि दूरीमा रहेका स्थानीयका घरमा समेत टेलिकमको टुजी चल्दैन । खलङ्गा बजारभित्रै पनि फोनको गतिलो पहुँच नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । इन्टरनेट सेवा कमजोर हुँदा काममा समस्या भएको छ । मोबाइल फोन, नेटवर्क र इन्टरनेटको समस्या स्थानीय बासिन्दालाई मात्र नभइ सरकारी कार्यालय, वित्तीय संस्था, स्थानीय तहमा समेत परेको छ । सदरमुकाम खलङ्गा बजार क्षेत्रमा पर्ने थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्याणपुरलगायत स्थानमा समेत नेपाल टेलिकम मोबाइल सेवाको काम नगर्दा समस्या हुँदै आएको छ ।

टेलिकमले नियमित टावर मर्मत, नयाँ टावर निर्माण, क्षमता विस्तार, पावर अपडेट, लाइन सुधार गर्नेलगायत काम नगर्दा फोन तथा इन्टरनेटको सुविधा भरपर्दो नभएको स्थानीयवासी प्रकाश शाहीले बताए  । टेलिफोन र इन्टरनेटकै कारण दुर्गमका सेवाग्राहीले सरकारी सेवा लिन सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा आवश्यकताअनुसार टावर निर्माण तथा मर्मत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा पनि टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

कुशे गाउँपालिकाको लाताचुली र जुनीचाँदे गाउँपालिका मजकोटको स्काई टावर बिग्रिएको एक वर्ष बितेको छ तर सम्बन्धित निकायले पुरानो टावर मर्मत र नयाँ टावर निर्माणमा बेवास्ता गरेको स्थानीय जुनीचाँदेका रेशमबहादर खड्काले बताए । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकाका बासिन्दालाई फोनमा कुरा गर्न दुई घण्टा उकालो चढेर डाँडामा पुग्नुपर्ने बाध्यता छ ।

निर्माणाधीन सात टेलिफोन टावर अलपत्र

जिल्लामा निर्माणाधीन सात ठाउँमा टावर अलपत्र अवस्थामा परेका छन् । रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माणाधीन टावर अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले लापरवाही गरेको टेलिकमले जनाएको छ । टावर निर्माणका लागि ठेकेदार कम्पनीसँग दुई वर्षअघि सम्झौता भएको थियो । नलगाड नगरपालिका–२ को गडी, बारेकोट गाउँपालिका ५ को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका ८ को लाँताचुली, शिवालय गाउँपालिका ५ को चिउँदुवा र जुनीचाँदे २ स्थित भैरीलेकको नमस्ते मोबाइल टावर निर्माण अलपत्र छन् । टावर निर्माणका लागि टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै काम सक्ने गरी भारतीय कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो ।

ठेकेदार कम्पनीले टावर निर्माणमा लापरवाही गरेको मध्यपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले बताए । बाटुले, छेडा, चाल्ना, लाता, जिन्ताला, पाँचकाटीया, सक्ला, काप्ती, घाट, दह, गर्खाकोट, मनघाट, मोर्कबजार, चौखाबजार, बानियागाउँ, स्यानाखोलालगायत गहिरो स्थानका गाउँमा मोबाइल फोन सेवाको पहुँच पुगेको छैन ।

दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । नेटवर्क कमजोर हुँदा समस्या भएको टेलिकमका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले बताउनुभयो । “रातामाटा टावरको लिंकमा बारम्बार डिस्टर्ब हुँदा थप समस्या छ”, उनले भने, टावरको क्षमताभन्दा मोवाइलकर्ताको सङ्ख्या बढी हुँदा पनि नेटवर्कको समस्या भएको हो । उनका अनुसार कार्यालयबाट नेपाल टेलिकमले ४५ हजार बढी सिम वितरण गरेको छ ।

बजारबाट वितरण भएका सिमको गणना हुन नसकेको उनले बताए । त्यस्तै छिमेकी जिल्ला डोल्पाको मुड्केचुलाको नकुमा निर्माण गर्ने टावरका सामग्री वर्ष दिनदेखि रुकुमको त्रिवेणीमा अलपत्र अवस्थामा परेको छ ।

Advertisement

Advertisement

Advertisement