यो सरकारले व्यापार घाटा बढेको, नेप्से घटेको, शोधनान्तर घाटा बढेको देखेनः यादव

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहे पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहासिक अवसर थियो । डिपार्चरको काम गर्नुपर्दथ्यो । तर, सरकारले विश्वास जगाउन सकेन् ।’ ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको उनको दाबी छ । यादवले थपे, ‘सबै मोर्चामा यो सरकार असफल छ ।’

उनले थपे, ‘देशको आर्थिक अवस्थामा गम्भीर समस्या छ, अर्थतन्त्र कमजोर भएको छ । संचिति रकमले जम्मा ८ महिनाभन्दा बढि धान्न सक्ने अवस्था छैन् । अब यसलाई साधारण प्रक्रियाबाट धान्न सकिने अवस्था छैन् । सरकारले र्याडिकल कदम चाल्नुपर्छ । व्यापार घाटा बढिरहेको छ । शोधान्तर घाटा बढेको छ । नेप्से पनि कमजोर भएको छ ।’

यादवले अहिले बाढी, पहिरोलगायतका कारण राष्ट्रिय विपत्ति रहेको सुनाउँदै मधेसमा डुबानको र पहाडमा पहिरोको ठूलो समस्या रहेको बताए । उनले भने, ‘यो नौलो समस्या होईन, मनसुन सुरु हुनेबित्तिकै देशमा त्रासको वातावरण बन्छ । तर, सरकारले दीर्घकालिन उपाय खोजेर समाधानको प्रयास नै गरेन । सरकार यसप्रति उदासिन र गैजिम्मेवार बन्यो ।’

विकासको नाममा चुरे दोहन हुनु गलत भएको यादवको गुनासो छ । उनले भने, ‘विकासको नाममा अवैज्ञानिक काम भयो । डोजर चलाएर पहाडमा बाटो बनाउने काम भएका छन् । घना वनजंगल मास्ने काम भए । अव्यवस्थित् बस्ति बढेको छ । सरकार झिनामसिना काममा अल्झिएको छ ।’

तराईमा बाढी र डुबानको समस्या भारतको कारणले भयो भनेर भन्नु नै गलत रहेको यादवको जिकिर छ । उनले भने, ‘सधैं यसरी नकारात्मक चर्चा गरेर हुँदैन् । नेपालले आफूले गर्नुपर्ने काम आफैं गर्नुपर्छ । अनि मात्रै भारतसँग वार्ता गर्नुपर्छ । सडकमा हल्ला गरेर परराष्ट्र नीति राम्रो हुँदैन् ।’

नेपाली जनताको सुरक्षा गर्ने जिम्मा नेपाल सरकारको भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने यादवको भनाई छ । उनले भने, ‘सरकारले समाधानको खोजी गर्यो भने हामी साथ दिन तयार छौं ।’

नेता यादवले प्रदेश नम्बर २ को सरकारमा आफ्नो पार्टी पनि सहभागी रहेकोले सरकारको काम प्रभावकारी हुनुपर्छ भनेर आफूहरुले समिक्षा गरिरहेको सुनाए । उनले भने, ‘सरकार बनेदेखि अहिलेसम्मको सरकारको कामको पुर्नमुल्यांकन गर्नुपर्छ भनेका छौं । अनि मात्रै हामी निर्णय लिन्छौं ।’

जनपक्षीय काम भएको छ कि छैन भनेर आफूहरुले समीक्षा गर्ने पनि यादवले जनाए । तर, अहिले नै मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे कुनै निर्णय नभएको यादवले बताए ।

सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने यादवले चेतावनी पनि दिए ।

उनले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे । यादवले भने, ‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन् । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं ।’

उनले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको सुनाए । यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने, ‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’

आफूले महाधिवेशनको मुखमा पार्टी नेतृत्वको जिम्मेवारी पाएकोले महाधिवेशनको वातावरण निर्माण गरेर सफल तुल्याउने मुख्य काम रहेको पनि यादवले सुनाए । उनले भने, ‘पार्टीको आन्तरिक संगठन सवलीकरण र मजवुद पार्दै अघि बढ्नुपर्छ । नीति तथा सिद्धान्तलाई लागु गर्नुपर्छ ।’ आफ्नो पार्टी तेस्रो ठूलो शक्तिको रुपमा संसदमा रहेकोले सोहीअनुसार सार्थक र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको पनि यादवले सुनाए ।

यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए । उनले भने, ‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ । संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुद बनाउनुपर्छ । यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौं ।’ लोकतन्त्रको सवालमा, जनताको जनजीविकाको सवालमा, शान्ति र सुशासनको सवालमा, सुशासनको सवालमा कांग्रेससँग एक ठाउँमा रहनेपनि उनले जनाए ।

नेता यादवले राजपा सशक्त वैकल्पिक शक्ति निर्माण गर्ने तयारीमा आफूहरु लागेको पनि सुनाए । राजनीतिक, सैद्धान्तिक र वैचारिक रुपमा मिलन हुने शक्तिहरुसँग मोर्चाबन्दी हुनेपनि उनले जनाए । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतका साना दलहरुसँग पनि एकताको लागि कुराकानी भइरहेको यादवको भनाई छ । यद्यपी मिडियामा हल्ला भएजस्तो समाजवादी पार्टीसँग एकताबारे औपचारिक वार्ता तथा सहमति नभएको पनि यादवले जिकिर गरे ।

उनले भने, ‘दुवैतर्फ वार्ता कमिटी बनाईएका छन् । तर, औपचारिक वार्ता अहिलेसम्म भएको छैन् । हाम्रो पार्टी अब महाधिवेशन गर्नतिर केन्द्रित छ । त्यही अनुसार कार्यक्रम ल्याउँदैछ । हामी समयमै महाधिवेशन गर्छौ । सफल हुन्छौं ।’

सरकारले अहिलेसम्म निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारवाही गर्न नसकेको यादवको आरोप छ । उनले भने, ‘हत्यारा पत्ता लगाउनु त परै जाओस्, सरकारको तर्फबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आईरहेका छन् । अहिले महिलाहरुको अस्मितामाथि खेलबाड भैरहेको छ । सरकार मुलुकमा शान्ति, अमनचयन कायम गर्न पूर्ण रुपमा असफल भैसकेको छ ।’

Advertisement

Advertisement

Advertisement