होटल सङ्घद्वारा हवाई सम्झौताको स्वागत

Advertisement

काठमाडौं । नेपाल र चीनबीच सातामा ९८ वटा उडान गर्ने विषयमा हालै भएको सम्झौताको पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले चीनका १५ विमानस्थलमा नेपाली विमानसेवा कम्पनीले उडान भर्न पाउने सम्झौताले नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने देखिएकाले सो सम्झौंताको स्वागत गरे ।

चीनले नेपालका दुईवटा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक २१ वटा उडान गर्ने निर्णयसमेत गरेको छ । सन् २०२० देखि सञ्चालनमा ल्याइने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीनले आफ्नो अवतरण सुरक्षित गरेको हो ।

यति एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुरसम्म दैनिक सिधा उडान गर्ने तथा पोखराबाटै माउण्टेन फ्लाइट गर्ने घोषणा गरेकामा त्यस्तो सेवाले उल्लिखित सबै क्षेत्रको पर्यटकीय विकासमा सकारात्मक असरपर्ने भन्दै सङ्घले खुशी व्यक्त गरेको छ । यसैगरी आन्तरिक उडानतर्फ यतिले यही साउन १६ गतेबाट भैरहवा भदौ १५ देखि भरतपुर रुटमा र भदौं २९ गतेदेखि अन्नपूर्ण एक्सप्रेस नाम दिएर माउण्टेन फ्लाइट सेवा शुरु गर्न लागिएका सम्बन्धमा केही दिनअघि पत्रकार सम्मेलन गरी घोषणा गरिएको थियो ।

भैरहवा र भरतपुर रुटमा बुद्ध एअरले यसअघिदेखि नै प्रदान गर्दै आएको सेवाले समेत सकारात्मक प्रभाव परिरहेको उनले जानकारी गराए । यसका साथै उनले सङ्घ अन्तर्गतका व्यवसायी र नेपालगञ्ज तथा सिमराका व्यवसायीबीच ती क्षेत्रलाई हवाई सेवाले जोड्ने विषयमासमेत छलफल अगाडि बढ्दै गरेको बताएको छ ।

Advertisement

Advertisement

Advertisement