काँग्रेसमा १४औं महाधिवेशनको मिति तोक्न नेतृत्वलाई चर्को दबाब, देउवा पक्ष आलटाल गर्दै

Advertisement

काठमाडौं । गएको आम निर्वाचनमा भारी बहुमतले पराजयसँगै संसदमा कमजोर प्रतिपक्षको रुपमा रहेको काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेतृत्वलाई १४औं महाधिवेशनको मिति तोक्न चर्को दबाब परेको छ । केन्द्रस्य सदस्यहरुले महाधिवेशनको मिति चाँडै तोक्न दबाब दिए पनि सभापति शेरबहादुर देउवाले भने त्यसमा आलटाल गरेका छन् ।

देउवा महाधिवेशनको मिति सक्दो लम्ब्याउने र सभापतिका लागि पुनः उम्मेदवार हुने दाउमा छन् । बैठकमा पेश भएका १४ एजेण्डामध्ये महाधिवेशन मुख्य एजेण्डाको रुपमा बहस भइरहेको छ । अधिकांशले महाधिवेशन लम्ब्याउने बिगतका गलत प्रवृत्ति यस पटक दोहोर्याउन नमिल्ने भन्दै तत्काल मिति तोक्न आग्रह गरेका छन् भने देउवा पक्षका केहीले भने तत्कालका लागि विधानको संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाएर महाधिवेशन ढिलो गर्नुपर्ने तर्क अघि सारेका छन् ।

देउवा पक्षकाले त्यसो भनिरहँदा अन्यले भने त्यसको कडा आलोचना गरेका छन् । उनीहरुले पार्टीको विधान निलम्बित गरेर काम गर्ने कुरा स्वीकार गर्न नसकिने भन्दै महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने बताएका छन् । सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको विषयमा छलफल केन्द्रित रहेको र निष्कर्षमा पुग्न नसकिएको बताएका छन् ।

बहुसंख्यक सदस्यहरुले महाधिवेशनको मिति टुँगो लागेपछि मात्रै अन्य विषयमा छलफल गर्नुपर्ने बताएपछि छलफल यसैमा केन्द्रित रहेको छ । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भर्खरै बनाएको विधानलाई निलम्बित गरी संक्रमणकालिन व्यवस्थाअनुसारको संरचना बनाउने कुरा गलत हो भन्दै महाधिवेशनको मिति तत्काल तय हुनुपर्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement