वास्तविक मूल्य लुकाएको भन्दै यति एयरलाइन्सको नयाँ एटीआर जहाजको भन्सार पास रोक्का

Advertisement

काठमाडौँ । यती एयरलाइन्सले थाइल्यान्डबाट शनिबार उडाएर ल्याएको एउटा एटीआर जहाजको वास्तविक खरिद मूल्य पेस नगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भन्सार पास रोक्का गरिदिएको छ ।

यतीले सन् २००७ मा निर्मित जहाजको वास्तविक मूल्य पेस नगरेकाले भन्सार कार्यालयमा रोकिएको भन्सार प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । यतीले यो जहाजका दुई मूल्य पेस गरेको छ । उसले भन्सारमा जहाजको खरिद मूल्य ३६ करोड ५८ लाख रुपैयाँ भएको दाबी गरेको छ । तर जहाजको बिमा गरिएको पत्रमा ६० करोड ६१ लाख रुपैयाँ बराबर मूल्य कायम गरेको छ ।

‘खरिद गरिएको बिलमा न्यूनतम मूल्यांकन गरिएको देखिन्छ । तर यही मोडलको एकै वर्ष उत्पादित जहाज बुद्ध एयरले ल्याउँदा ८२ करोड रुपैयाँ परल मूल्य देखाएको थियो, हाम्रो राजस्व नियमले यस्तो मान्दैन,’ भन्सार प्रमुख ठाकुरले भने । बुद्ध एयरले चैतमा फ्रान्सको टुलुजबाट भित्र्याएको एटीआरमा ८२ करोड परल मूल्यमा १ प्रतिशत भन्सार दरका आधारमा ८२ लाख रुपैयाँ हाराहारी राजस्व बुझाएको थियो । सन् २००७ मा निर्मित उक्त एटीआर विमान बुद्धअघि फ्रान्सेली प्रवासी क्षेत्र ताहितीस्थित एयर ताहितीले उडाउँदै आएको थियो ।

यतीले शनिबार बैंककबाट ५ घण्टा उडाएर काठमाडौंमा सिधा अवतरण गराएको विमान १२ वर्ष पुरानो हो । यती स्रोतका अनुसार यसअघि यो विमान थाइल्यान्डको नोक एयरले उडाउँदै आएको थियो । तर उक्त कम्पनी आर्थिक संकटमा परेपछि यो जहाजको बेलायती लगानीकर्ता कम्पनी इन्भेस्टटेकबाट यतीले ३२ लाख ५० हजार डलर (३५ करोड ८१ लाख रुपैयाँ हाराहारी) मा खरिद गरेको हो ।

यो विमान खरिद गर्ने पाँचौं कम्पनी हो यती । भारतको एयर डेकोनले यो विमान १२ वर्षअघि ब्रान्ड न्यु खरिद गरेर नौ महिना उडाएर भारतकै किङफिसर एयरलाइन्सलाई बेचेको थियो । किङफिसर आर्थिक संकटमा परेपछि त्यहाँ चार वर्ष उडेको यो विमान दक्षिण अफ्रिकाको इन्भेस्टटेकको स्वामित्वमा गएको थियो । उक्त कम्पनीले तीन महिनापछि यो विमान सन् २०१२ डिसेम्बरमा थाइल्यान्डको नोक एयरलाई भाडामा दिएको थियो ।

फ्रान्स र इटालीको एटीआर कम्पनीले उत्पादन गरेको यो जहाज घुम्दै पाँचौं कम्पनीका रूपमा शनिबार काठमाडौंमा अवतरण भएको छ । नागरिक उड्डयन प्राधिकरणले यसलाई नेपाली रजिस्ट्रेसन नम्बर अल्फा नोभेम्बर गल्फ दिएको छ । नेपालको हवाई कानुनले १५ वर्षसम्म पुरानो विमान खरिदमा छुट दिएको छ । नेपालमा सबैभन्दा सस्तो भन्सार दर पाइने दुई वस्तुमध्ये जहाज र हीरा पर्छन् । यिनको भन्सार दर आयातकर्ताले १ प्रतिशत मात्रै तिर्नुपर्छ ।

पाँचौं एटीआरका रूपमा खरिद गर्ने यतीले अब यो जहाज छुटाउन बिमापत्रमा कायम मूल्य ६० करोड ६१ लाखको भन्सार तिर्नुपर्छ । तर यतीले भन्सारको यो निर्णयमा आर्बिटेसन गर्ने तयारी गरेको छ । आर्बिटेसनमा जाने भएपछि जहाज छुटाउन धरौटी तिरे पुग्छ । ठाकुरका अनुसार, यो अधिकतम मूल्यको १ प्रतिशत नै हुन्छ ।

यतीले वैशाखमा थाइल्यान्डबाटै ५६ लाख डलरमा खरिद गरेको चौथो एटीआरमा पनि दुइटा मूल्य भन्सारमा पेस भएपछि भन्सार पास रोकिएको थियो । उक्त जहाजबारेको भन्सार मूल्यबारे यतीले भन्सार विभाग र अर्थ मन्त्रालयलमा आर्बिटेसन (उजुरी) दिएको छ । त्यसबारे निर्णय भइसकेको छैन ।

तर नेपाली रजिस्ट्रेसन नम्बर अल्फा नोभेम्बर चार्ली भएको उक्त विमान यतीले धरौटी तिरेर उडानमा ल्याइसकेको छ । त्यसताका यतीले ६० करोड मूल्यमा बिमा गराएको थियो । उसले यो अंकमा भन्सार तिर्न इन्कार गरेको थियो । एटीआर ७२–५०० मोडलका ब्रान्ड न्युको बजार मूल्य २ अर्बभन्दा बढी पर्छ ।

नेपालमा सबभन्दा धेरै एटीआर विमान उडाउने बुद्ध एयर हो । यससँग ७२ यात्रु क्षमताका ७ वटा र ४२ सिट क्षमताका तीन एटीआर विमान छन् ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement