लोकसेवामा गिद्धे नजर लगाएर मंगलग्रहतिर उडेको संघीय यान सफल अवतरण हुन्न

bhim-upadhyay

काठमाडौं । पंचायती ब्यवस्था नयॉ शासन प्रणाली थियो। देशभरिका राजनीतिकर्मी र कर्मचारीलाई त्यो नयॉ व्यवस्थाको प्रशिक्षण दिन भनेर पंचायत प्रशिक्षण प्रतिष्ठान स्थापना गरी सघन नियमित प्रशिक्षण दिईन्थ्यो। त्यसरी पंचायत ३० वर्ष टिक्यो । २०४७ साल पछि त्यो संस्थालाई स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान नामाकरण गरेर खुबै प्रशिक्षण दिईने गरिन्थ्यो । तर ०५८ साल पछि जब स्थानीय निकायहरू जनप्रतिनिधि बिहीन भए, त्यसपछि यो संस्था मरेतुल्य । बिनाकामले कर्मचारीहरू तलब पड्काईरहेका छन्।

अर्को तिर गाँउगाँउमा सिंहदरबार पुगेको संघीय व्यवस्था जन्माईएको छ। अब खानेपालो हाम्रो हो भन्दै ३६ हजार जनप्रतिनिधिहरू भोरजुवा खेल्दैछन्। कसैको नियन्त्रणमा कोही छैनन्। ठेकेदार, डोजर मालिक, ढुंगागिट्टी बालुवा माफिया र व्यापारी, जल थल वायु ठेकेदार र माफिया जनप्रतिनिधिमा चुनिएर लुटतन्त्रमा व्यवसायिकरण भित्राईसकिएको छ। राजकाज कसरी चल्छ ? चलाईन्छ तिनले सपनामा पनि नचिताएको चिट्ठा पारेका छन् । न कसैले संघीयता यसरी चलाउनु पर्छ भनेर सिकाउँछ, न कसैलाई सिक्ने चाहना रहेको पाईन्छ । सबै आआफै विज्ञ बनिपल्टेका छन् ।

भरमार दलहरूका सबै कार्यकर्तालाई पद चाहिएको छ, त्यसमै रडाको र हानथाप छ। मिले सरकारी, राजनीतिक नियुक्ति र पदहरू, नमिले दलभित्रका विभाग, प्रदेश, केन्द्र, स्थानीय वा त्यो पनि नभए ठेक्का, लाईसेन्स, जागिर, चन्दा नभई भएको छैन । नत्र नेताहरूको सत्ताको सिंहासन ढुल्मुलिन्छ, रातारात तिनकै पाटीको बास हुन बेर लाग्दैन । आर्यघाट नपुग्दासम्म, पशुको आंगको किर्नाले जिउ नछाडेसम्म बुढा नेताहरू मरे आंग छाड्दैनन्, जब पशु मर्छ तब भने छाड्लान् ?

५/१० लाख नियमित सदस्य भएका यहॉका दलहरूलाई नेपाललाई लाख वटा टुक्रा पारे पनि तिनलाई नै पदहरू कमी हुन्छ, कहिले पुग्ने हैन, कहिलै पुगेको देखिएन । त्यस्तो शासन प्रणालीमा सक्षम, योग्य, शिक्षित, पठित, विज्ञ, वैज्ञानिक, ईन्जिनियर, पेशाविदहरूले के खाएर ठाउँ र अवसर वा जिम्मेवारी पाउछन् त नि ? ती कसरी नेपालमा बस्छन् त नि, कसरी बिदेशिएकाहरू स्वदेश फर्केलान् त नि । बरा, केही मान्छे लोकसेवाबाट छिरेर त यो मुलुक जेनतेन थामेका छन् । तर, अहिले किर्नाहरूलाई त्यही लोकसेवामा गिद्दे नजर लगाउँदै त्यसलाई पनि हडप्न नपाउदासम्म निद्रा नलाग्ने भइसकेको छ। हॉडीमा कनिका त्यही लोकसेवाबाट छिरेका मुलुक थामेका विज्ञहरू बन्न पुगेका छन् ।

अहिलेको संघीय शासन व्यवस्था ईतिहास मै नभोगेको विशुद्ध नयॉ शासन व्यवस्था हो, यो मंगलग्रहको यात्रा सरह हो । तर गफैले मंगल ग्रहको यात्रा गर्ने दुस्साहस भएको छ। फुकीफुकी, प्रशिक्षित पार्दै , क्षमता योग्यता कार्यकुशलता र कला बिकसित गर्दै अगाडी नहिड्दा अन्तरिक्ष यान त पड्केर छिन्नभिन्न हुने नै छ, अन्तरिक्ष यात्रीहरू पनि संगै खरानी हुनेछन्। तर, संघीय शासन व्यवस्थाको यानले मंगल ग्रहको उडान भरिसकेको छ, बिना तयारी, बिना सतर्कता र बिना प्रशिक्षण ।