घरेलु रक्सी बेचेर स्कटल्याण्डले ४.७ अर्ब युरो कमाउँछ, हाम्रोमा लोकल रक्सीमा प्रतिबन्ध किन ?

धनबहादुर तामाङ, पूर्वसचिव

काठमाडौं । स्कटल्याण्डले गत २०१८ मा युरो ४.७ अर्बको स्कच ह्विस्की निर्यात गरेको रहेछ । अमेरिका लगायतका देशहरूमा विभिन्न स्वादको क्राफ्ट बियर (घरेलु सानो मात्रामा बनाइने बियर) पाइने रेष्टुराँ ग्राहकले खचाखच हुन्छन् । जापानले हालसालै नेपाली नाम राखेर क्यान छ्याङ उत्पादन गरेको छ ।

नेपालमा सदियौं देखि विभिन्न आदिवासी जातजातिले विभिन्न खाले छ्याङ, तोङ्बा, जाँड, निगार, रक्सी आ– आफ्ना भाषामा विभिन्न नाम सहित बनाउँदै आएका छन् । यस प्रविधिमा सदियौंको अनुभवले उनीहरू पोख्त छन् । यसमा थप अनुसन्धान र विकासको पनि जरूरत होला ।

नेपालको हालसम्मको कानुनले ती पदार्थहरूको थोर बहुत उत्पादन र बिक्री गैर कानुनी छ । मैले यस्तो मदिराजन्य उत्पादन नेपालमा आदिवासी जनजाति प्रविधिबाटै हुने गरेको कुरा विदेशको सम्मेलनमा भेटिएको एकजना जापानी सहभागी समक्ष राखेको थिएँ । उनले ति उत्पादन अन्तराष्ट्रिय बजारमा उपलब्ध हुन्छन् भनेर सोधेका थिए ।

मैले भने अहिलेसम्म छैन् । यदि मैले यो नेपाली बजार मै ती प्रतिबन्धित छ भनेको भए ऊ तीन छक्क पथ्र्याेर होला । त्यस माथि अति महंगा विदेशी रक्सीको भरमार आयात छ । ती घरेलु उत्पादनको उद्योग स्थानीय तहमा दर्ता गरी तिनीहरूको गुणस्तर अनुगमन गर्ने र पछि स्थापित भए पछि बरु उचित कर समेत लिने गर्न सकिने थिएन र ?

यो त एउटा मात्र उदाहरण हो, त्यस्तै स्थापीत गलैँचा उद्योग कसरी सरकारी संरक्षणको अभावमा खत्तम भयो ? जबकि तुर्कमेनिस्तान मा त्यो राष्ट्रिय गौरवको उत्पादन भन्दै गलैँचा मन्त्रालय नै स्थापना गरेको छ । अब भन्नुस्, हाम्रो देशमा व्यापार घाटा वा विदेशी मुद्राको कमी वा ब्यालेन्स अफ पेमेन्टको समस्या नभए कहाँ हुन्छ ?