सहकारीको ब्याजदर हामी तोक्दैनौंः राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसक्ने जनाएको छ । खुल्ला बजार अर्थ नीतिलाई नेपालले आत्मसात् गरेको हुँदा ब्याजदर तोक्न नमिल्ने राष्ट्र बैंकले बताइएको हो ।

सहकारी पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘सहकारीमा ब्याजदर’ विषयक अन्तरक्रियामा राष्ट्र बैंकका प्रतिनिधि नवीन्द्र विष्टले ब्याज र ऋणको अन्तर (स्प्रिड) दरबाहेक किटान गरेर सहकारी संस्थाका लागि ब्याजदर निश्चित गर्न नसकिने बताए ।

नेपाल राष्ट्र बैंकले यही साउन ८ गते सार्बजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकका लागि चार दशमलव चार प्रतिशत स्प्रिड दर तोकेको छ । गत वर्षभन्दा यस वर्ष राष्ट्र बैंकले शून्य छ प्रतिशतले स्प्रिड दर घटाएको हो । गत वर्षको स्प्रिड दर पाँच प्रतिशत थियो ।

नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये लगभग २२ हजारले वित्तीय कारोवार गर्छन् । बचत तथा ऋण परिचालन गर्नै सहकारीले थोरैमा ११ प्रतिशतदेखि बढीमा २३ प्रतिशतसम्म ब्याज असुल्ने गरेको बताएका छन् । नेपालको मुलुकी आचारसंहितामा भने १० प्रतिशतभन्दा बढी ब्याज असुल्न नपाइने उल्लेख छ ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालका सहकारी संस्थासँग झण्डै रु सात खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगार र ६३ हजार ब्यक्ति सहकारीमा आबद्ध छन् । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले माग र आपूर्तिलाई केन्द्र बिन्दुमा राख्दै सबैको हित अनुकूल हुने गरी साझा सहमतिमा सहकारी संस्थाले छिट्टै ब्याजदर तोक्ने बताए ।

सहकारी ऐन, २०७४ मा सहकारी संस्थाले ब्याजदर निश्चित गर्नुपर्ने उल्लेख छ । ऐन जारी भएको झण्डै चार वर्ष पुगिसक्दासमेत ब्याजदरमा एकरुपता कायम गर्न नसक्नुले सहकारीप्रति जनताको विश्वास घट्दै गएको उल्लेख सहकारी पत्रकार समाजका अध्यक्ष खिला दाहालले बताए ।

Advertisement

Advertisement

Advertisement