नेपालगञ्जमा बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही

Advertisement

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । तर आजदेखि सञ्चालनमा आउने भनिएको बसपार्क पुनः अनिश्चित बनेको छ ।

ठेकेदारले समयमा काम गर्न नसक्दा सञ्चालन अनिश्चित बनेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । बसपार्क निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनी युनाइटेड बिल्डर्सको बदमासी र नेपालगञ्ज उपमहानगरपालिकाको चरम उदासिनताका कारण अन्तिम पटक तोकिएको समय साउन मा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।

आजैदेखि बसपार्क सञ्चालन गर्ने तयारी गरिएको थियो तर काम नसकिएकाले त्यो सम्भव छैन, नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले भने, ठेकेदारकै कारण कहिले सम्पन्न हुन्छ भने अन्योल थपिएको छ । १५ महीनाभित्र सम्पन्न गर्ने गरी २०१६ अप्रिलमा शुरु भएको बसपार्क निर्माणको काम चार वर्षमा सकिने चरणमा फेरि अन्योलता थपिएको छ ।

आजैदेखि सञ्चालनमा आउने भनिएको बसपार्क अधुरै रहेपछि नेपालगञ्जवासी निरास बनेका छन् । १५ महीनाभित्र निर्माण सक्ने सम्झौता भए पनि सम्झौताअनुरुप निर्माण सम्पन्न नहुँदा चार वर्षपछि सकिने चरणमा पुगेको बसपार्क सञ्चालनमा अन्योलता थपिएको नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले बताए ।

अत्याधुनिक बसपार्कभित्र टर्मिनल भवन सपिङ बिल्डिङ शौचालय चमेनागृह पक्की पार्किङ क्षेत्र निर्माण लगभग सकिएको उनले बताए । ठेकेदारसँग जरिवाना (पेनाल्टी) असुलेरै भए पनि नयाँ मिति तोकेर काम सम्पन्न गराउँछौँ, सूचना अधिकारी पौडेलले भने । यता निर्माणको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालनमा नआउँदै दुर्गन्धित बन्न थालेको छ ।

निर्माणको काममा भएको सुस्तताले गर्दा समयमै सञ्चालनमा आउन नसकेको बसपार्कभित्र चिटिक्क परेका अत्याधुनिक सुविधासहितका संरचना बनेका छन् तर संरचना आसपासमा खुला शौचका कारण दुर्गन्ध फैलिएको छ । अत्याधुनिक बसपार्कभित्र खुला शौचका कारण दुर्गन्धित बन्न थालेको स्थानीयको भनाइ छ ।

नेपालगञ्ज–४ का स्थानीय दीपक शाहीले भने सञ्चालनमा नआउँदै दुर्गन्ध फैलिएको छ ।बसपार्कभित्र अत्याधुनिक संरचना निर्माणसँगै एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र पुरुषका लागि अलग अलग सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । निर्माण गरिएका शौचालय बन्द भएका कारण बसपार्कभित्र खुला शौच गर्ने गरिएको छ । शौचालयमा बनेका सटरभित्र समेत शौच गर्ने गरेको काममा संलग्न कामदार बताए । त्यस क्षेत्र भएर हिँड्ने बटुवा यात्रु सेवाग्राहीदेखि जो कोहीले बसपार्कमा बनेका संरचनालाई शौचालयका रुपमा प्रयोग गरेका छन् । बसपार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीलाई यसअघि पाँच पटकसम्म म्याद थप गरिसकिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण शुरु गरिएको हो । ठेकेदार कम्पनीकै लापर्वाहीका कारण नेपालगञ्जको यातायात व्यवस्थापनमा समेत समस्या देखिएको छ । निर्माण ढिलाइ भएपछि यातायात साधन पार्किङ गर्न टिकट काउन्टर व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्न समस्या भएको छ ।

साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधारभूत सुविधायुक्त बनाउन निर्माण कार्य थालिएको थियो । बसपार्कको निर्माण कार्य सम्पन्न नहुँदा त्यस क्षेत्रमा निर्माण क्रममा जथाभावी माटो थुपारिँदा गाडी पार्किङमा समस्या भएको यातायात व्यवसायीको गुनासो छ । यात्रु तथा सवारी साधनलाई सहज हुने गरी निर्माण गर्न लागिएको बसपार्क निर्माण कार्य निकै सुस्त छ ।

करीब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसक्ने भएपछि अत्याधुनिक बसपार्क निर्माणको काम थालिएको थियो । यातायातका साधनबाट असुली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । नेपालगञ्जमा नेपालकै उदाहरणीय र अत्याधुनिक बसपार्क बनाउने योजना शुरु भए पनि हालसम्म निर्माण कार्य पूरा नहुँदा बीचमै अल्झिएको छ ।

गाडी पार्किङ गराउने भन्नेमा हामीलाई तनाव हुन्छ । बसपार्क बनेको सडकको हालत उस्तै छ । नेपालगञ्ज–जाजरकोट रुटका गाडी चालक गोपाल महताराले भने, निर्माणको गति हेर्दा बसपार्क सञ्चालनमा आउन अझै समय लाग्ने देखिन्छ । बसपार्क निर्माण सम्पन्न नहुँदा गाडी पार्किङ गर्न समस्या भएपछि नजिकैका खाली स्थानमा पार्किङ गर्ने गरिएको उनले बताए ।

यात्रुलाई बस र टिकट काउण्टर खोज्नै मुस्किल पर्ने गरेको छ । सडकमा पार्किङ गर्दा बस असुरक्षित हुने गरेको उहाँको भनाइ छ । टिकट काउन्टरसमेत भद्रगोल छन्उनले भने यो अवस्थामा यात्रुले सुरक्षित टिकट काट्न र बसपार्कबाट गाडी सञ्चालन गर्न सकिँदैन ।नेपालगञ्ज बसपार्कबाट राजधानीलगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ३०० बढी साना तथा ठूला बस सञ्चालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement