गोर्खा ब्रुअरीको ८८ करोड कर छली प्रकरणः न्यायाधीसम्म सेटिङ मिलाउने गिरोहको खोजी सुरु

Advertisement

काठमाडौं, पोखरा । क्षेत्राधिकार मिचेर मुद्दाको फैसला गरेको भन्दै पोखरा उच्चअदालतका तीन न्यायाधीश कारबाहीमा परेपछि कानुनी प्रक्रियाका विज्ञहरुले ‘न्यायाधीशसम्म मुद्दा पुर्याउने दर्तावालादेखिको गिरोहको खोजी गरी कारबाही चलाउनुपर्ने’ धारणा राखेका छन् ।

गोर्खा ब्रुअरी कम्पनीको करसम्बन्धी मुद्दामा उक्त अदालतका तीन न्यायाधीशले क्षेत्राधिकार मिचेर सुनुवाई र कम्पनीकै पक्षमा फैसला सुनाएपछि यस विषयले चर्चा पाइरहेको छ । कम्पनीले कर छल्नका लागि गिरोहलाई प्रभावमा पारेको स्रोतको दावी छ ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले मानवीय त्रुटिले पनि यस्तो हुन सक्ने तर गलत नियतले हो भने तीन न्यायाधीश मात्रै नभई यससँग सम्बन्धित प्रक्रियामा सामेल सबै छानविनमा तानिनुपर्ने धारणा राखे ।

‘कुनै मुद्दामा मानवीय त्रुटि पनि हुनसक्छ तर गलत नियतले गरिएकै हो भने तीन न्यायाधीशलाई छानविनमा तानिएर मात्रै हुँदैन, रिट दर्ता गर्नेदेखि लिएर मुख्य न्यायाधीश, रजिष्टारसम्म पनि छानबिनमा तानिनुपर्छ’, उनले भने ।

त्यस्तै नेपाल बार एशोसिएसन केन्द्रका उपाध्यक्ष सुरेन्द्र थापामगरले न्यायपालिकाको गरिमा झुकाउने काम कसैले गरेमा कार्वाही गर्नुपर्ने बताए । उनले छानबिनमा तानिएका तीन न्यायाधीशको विषयमा छानविन समितिले उचित निष्कर्ष निकाल्ने बताए ।

‘न्यायपालिकाको गरिमा बचाउन अक्षम र अयोग्य जोकोही पनि दण्डहीनताको अवस्थामा रहनु हुँदैन । न्यायपालिकाको शिर झुक्नु हुँदैन, कहीं कतै अदालतभित्र विकृति विसंगति छन् भने त्यसको अन्त्य हुन आवश्क छ’, उनको भनाइ थियो ।

इमानदार र सक्षम न्यायाधीशको समेत छवि बिगार्ने किसिमले हुने यस्ता गतिविधिमा संलग्न जोकोहीलाई समेत कानुनी दायरामा ल्याई कारबाही हुनुपर्ने थापामगरको जिकिर छ । ‘यसका लागि छानबिन समिमिसमेत गठन गरिएको छ । समितिले छानबिन गरी सत्य–तथ्य बाहिर ल्याउने छ’, उनले विश्वास प्रकट गरे ।

कम्पनीका नाममा आन्तरिक राजस्व कार्यालय, भरतपुरले निर्धारण गरेको अन्तः शुल्कको विषयमा सूचना पठाएपनि चित्त नबुझे समय सीमाभित्र निवेदन दिन आउनुपर्नेमा कम्पनी क्षेत्राधिकारभन्दा बाहिरको अदालतमा गएको अवस्था छ ।

अदालतका न्यायाधीश रामचन्द्र यादवले जेठ २० गते र न्यायाधीश जीवनहरि अधिकारी र नरबहादुर शाहीको संयुक्त इजलासले असार ११ गते राजस्व कार्यालयलाई कर निर्धारण गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

उक्त आदेशको विरुद्ध राजश्व कार्यालय सर्वोच्च अदालत गएको थियो । सो रिटमाथि सुनुवाई गर्दै यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर आदेश दिने तीनै न्यायाधीशलाई कारबाही सिफारिस गरेको थियो ।

अहिले सर्वोच्चका न्यायाधीश सपना मल्लको संयोजकत्वमा न्याय परिषद्ले छानबिन समिति बनाइसकेको छ । समितिलाई १५ दिनभित्र कार्यसम्पन्न गर्न समयसिमा तोकिएको छ ।

राजस्व कार्यालयले कम्पनीको नाममा आब २०७३ देखि २०७५ सम्मको ८७ करोड ९० लाख कर निर्धारण गरी भुक्तानीका लागि जेठ ७ गते सूचना पठाएको थियो ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement