काठमाडौं । मन्त्री, सचिव, डिजी पदले के के काम गर्ने भन्ने कुरा सरकारको दलको घोषणा पत्र, नीति तथा बजेट, सुशासन ऐन नियम, मन्त्रालयको बार्षिक कार्यक्रम, योजनामै लेखिएका हुन्छन् । अन्तमा काम भयो या भएन त्यो कुरा लाटोले पनि बुझिसकेको हुन्छ। प्रगति रिपोर्ट लेख्ने ढाँचा बनाएर मन्त्रीहरूले प्रतिवेदन बनाउनु उसको सामान्य नियमित जिम्मेवारीको काम हो। आउटसोर्सिंङ गरिने कम्पनीहरूसंगको हो करार गर्ने वा कार्यसम्पादन सम्झौता गर्ने । सरकारका सबै अंग नै सामूहिक सरकार हो। त्यसैले यो कार्यसम्पादन करार गर्ने नाटक गर्नु बेकार हो । यसले ठेकेदारी प्रणालीलाई सरकार संचालनमा परिक्षण गर्न खोजिएको मात्र देखाउछ। यस्ता वाहियात काम गरेर जग नहसाए हुने हो । हामी विगत १० वर्ष देखि यस्ता औचित्यहीन कार्यसम्पादन करार गर्दै आएकै थियौ र हौ, तर यसले उपलब्धी र प्रभावकारिताको नाममा माखो मारेन। बरू कुशासनको परिमाण झन् झन् बढ्दै गयो। अनुगमन, मुल्यांकन र अधिकार प्रयोग गर्ने क्षमता, हिम्मत, प्रविधिको सदुपयोग नभए पछि नानाथरिका उरन्ठेउले कुराहरू नेपालमा जन्माईन्छन्, सुरू गरिन्छन् र तुहिन्छन् । यस्ता बेकामे पहलहरूका कारण प्रम, मन्त्री र सचिवहरूको मुलुक संचालन गर्ने क्षमता र हैसियतको झन झन भण्डाफोर हुदै जाने निश्चित छ।
टिममा काम गर्ने हो, कोही अलग पार्टी होईनन्, सरकार समग्रमा एक हो। दुनियॉका सबै राम्रा कामहरूको नक्कल गर्न खोज्ने तर आफ्नो क्षमता, कार्यसंस्कृति, श्रोत, अनुगमन मुल्यांकन पद्दतिमा सुधार ल्याउन सिन्को नभाच्ने र दुनियॉको राम्रा कामहरूको नक्कल गर्दैगर्दा सबै भन्दा खराब कार्यान्वयन गरेर खराबी मात्रै नक्कल हुन पुगेका हजारौं उदाहरण छन्। अहिले सरकार संचालनमा नेपालको मौलिक आफ्नोपन भन्ने केही छैन। प्रम वा नेताहरू दलभित्र र सरकारभित्र निरीह छन्। बाहिरबाहिर मात्र फोक्से मासुलेले मोटा देखिएका मात्र हुन्। ती काँतर छन्, केही भयो भने बिचल्ली हुन्छ भनेर मनमनै थुरूरी छन्। त्यसैले उल्लु बन्न र बनाउन नक्कली सबै बिकृत रूपहरू यहॉ छ्यापछ्याप्ती अगॉलिएका हुन्। यो कार्यसम्पादन करारीय नाटक पनि बाहिरिया नक्कलको एक विकृति हो । जराबिहीन रूखहरू हावाको एक झोक्कामै ढल्छन् र ढलिरहेका पनि देखिएकै हो । लहडमै मुलुक चलाउछु भन्ने लहडीहरूको खुदो पल्टेको छ।
नेपालको क्याबिनेट प्रणालीमा मन्त्रीको हैसियत उसको ब्यक्तिगत क्षमताले मात्र हैन कि , प्रमको दह्रो निरन्तर सपोर्ट छ कि छैन त्यसले निर्धारण गर्ने गर्छ। मन्त्री र सचिबलाई प्रमको दह्रो सपोर्ट छ भने तिनले आफ्नो योग्यताले प्रभावकारी काम गर्न सक्छन् , नभए जति तगडा वा फुईँलगाए पनि ती मन्त्रीहरू निरीह साबित हुन्छन्। आफ्नो करियरको हित हेर्ने मन्त्रीले त्यसलाई बेला मै नियालेर काम गर्न नसके नालायक सिद्ध हुनुभन्दा अघि नै कुनै बहाना खोजेर पदबाट हट्दा मात्र आफ्नो मान र करियर भविष्यका निम्ति अनुकूल अवसरका लागि बर्करार राख्न सक्छ। वर्तमान मन्त्रिमंडलमा पनि त्यस्ता केही निष्फल मन्त्रीहरू प्रष्ट विद्यामान छन् । तिनलाई काम गरेर नाम कमाउने अनुकूल वातावरण छैन, राजनीतिक करियरमा त्यसले लाभ पनि हुनेवाला छैन भन्ने थाहा हुदाहुदै पनि पदमा टास्सिदा मै बढी आनन्द आईरहेको देखिन्छ। त्यसैले नेपालमा काम देखाउनु भन्दा पदको मादकता बढी प्यारो लाग्ने नेताहरूको जमात बढिरहेको छ।
विश्वभरि हाल देखिएका राजनीतिक उथल पुथल र क्रान्तिको मूल मुद्दा भ्रष्टाचार हुदैछ। नेपालमा पनि अब हुने राजनीतिक उथल पुथलको कारण घोर भ्रष्टाचार नै हुने देखिदैछ। अहिले राजनीतिक मोडेल वा आस्थालाई दुनियॉमा कसैले वास्ता गर्दैनन्। विश्वको अर्थतन्त्र बढ्दैछ, जनसंख्या बढ्दैछ, आर्थिक गतिबिधि र प्रोजेक्ट बढ्दै छन्, खर्च गर्ने वा कमाउने माध्यमहरू बढ्दैछ। तसर्थ भ्रष्टाचार पनि संगसंगै बढ्नु स्वाभाविक हो, जबसम्म त्यसलाई नियन्त्रण गर्ने ठोस पहलहरू सरकारहरूले ल्याउदैनन् वा ल्याए पनि कार्यान्वयन गर्न सक्दैनन्। तर, भ्रष्टाचारीहरू माथि कार्यवाही गर्ने निकाय, संस्था, पदाधिकारी वा अदालत र न्यायाधीशहरूको संख्या भने जहॉको तहीं छ। यो नै बिडम्बना हो । भ्रष्टाचारीउपरको कार्यवाही ढिला वा प्रभावहीन हुनुमा ।
नेपालमा पनि अब शुद्धिकरण आन्दोलन गर्नुपर्छ । अपराधको हदम्याद हुदैन र जहिले प्रमाण जुट्छ त्यही बेला कार्यवाही गरिनुपर्छ । विदेशमा पूर्व र वर्तमान राष्ट्रपतिहरू पनि पछि अपराध पत्तालागेर बिसौं वर्ष जेलको हावा खाईरहेकै छन् । पाकिस्तानमा २ जना पूर्व प्रम र १ जना पूर्व राष्ट्रपति संगै जेलमा कोचिएका छन्। अर्का पूर्व राष्ट्रपति बिदेशमा शरण लिईरहेका छन्।थाईल्याण्डमा पूर्व प्रमहरू बिदेश फरार छन्, ग्रीस र ब्राजिलका पूर्व प्रम र पूर्व राष्ट्रपतिले आत्महत्या गरेका छन्। दक्षिण कोरियामा त पूर्व राष्ट्रपतिहरू लगभग सबै जेलको हावा खाएका पाईन्छन्। बंगलादेशमा पूर्व प्रम जेल मै छिन्।
हिजो भ्रष्टाचार ठीक, आज कसरी बेठीक भनेर अपराधलाई नजरअन्दाज गर्ने छुट दिन मिल्दैन । राज्यका अंगमा बस्नेहरूको ईमान चरित्रमा कहिले छुट हुदैन। प्रमाणित भएमा तिनले जेलको हावा खाएर प्रायश्चित्त गर्नैपर्छ । जति माथिल्लो पद त्यति बढी ईमान र सच्चरित्रता स्थापित गरिएको हुनुपर्छ । यसमा छुट दिन सकिन्न, बरू पछि सजाय माफ दिन सकिन्छ । उच्चपदाधिकारीहरूले राज्यलाई ढॉटेको वा छलेको पाईनु मुलुकको कानुनको धज्जि उडाईएको हो, तिनलाई सामान्य नागरिक भन्दा झन थप सजाय हुनुपर्छ ।अपराध जहिले पत्ता लाग्छ त्यति बेला नै घोक्रेठ्याक लगाउने हो र लगाउनै पर्छ । यसमा किन ? कसरी ? गर्न पाईन्न । हिजो किन छुट दिईयो ? भन्ने प्रश्न उठाउनेहरू घोर अनैतिक भ्रष्ट चरित्रका मतियारहरू मात्र हुन्छन् ।
मान्छे ठूल्ठूला कुराले हैन, ससाना दिन दैनिक कुराले नै बढी दुःख पाईरहेको हुन्छ। सानो कुरामा बढी ध्यान के दिनु भन्ने संस्कारलेले अनाहकमा दुःख बेसाईरहेका हुन्छन् । रातिको निद्रा खल्बलाउन एउटा छुद्र लामखुट्टे काफी हुन्छ । लामखुट्टे ज्यादै सानो किट हो तर निद्रा हराम भयो भने दिनभरि नै बेहाल हुन्छ। जनता अहिले झुक्किन छाडेका छन् यो भने नेपालको राजनीतिक परिवर्तनको उपलब्धी नै मान्नुपर्छ।