श्रेष्ठ र प्रधान भन्छन्– विशेष साधारणसभा कात्तिक अन्तिम साता हुन्छ, विधान संशोधन कसैले रोकेर रोकिन्न

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षद्धय किशोर प्रधान र उमेशलाल श्रेष्ठले विधान संशोधन प्रक्रिया अघि बढिसकेकोले रोकेर रोकिने अवस्था नरहेको बताएका छन् । उनीहरुले कात्तिक अन्तिम सातामा विशेष साधारणसभा हुने बताएका छन् ।

महासंघको विशेष साधारणसभा तोक्ने विषयमा विवाद भइरहेको बेला प्रधान र श्रेष्ठले कर्पोरेट नेपालसँगको कुराकानीमा आम उद्योगी व्यवसायीको आग्रह र दबाब त्यसैको पक्षमा रहेकाले प्रक्रिया रोक्न नसकिने बताए । महासंघको विधान संशोधन समितिको संयोजकसमेत रहेका पूर्वअध्यक्ष चण्डिराज ढकालले महासंघको कार्यकारिणी समितिको बैठकमा संशोधनको प्रस्ताव गरेका थिए ।

ढकालको प्रस्तावलाई बैठकमा सहभागी महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले विमति जनाएका थिए । विधान संशोधनका लागि मिति तोक्न ढकालले प्रस्ताव गरेसँगै मुरारकाले त्यसको प्रतिवाद गरेका थिए । मिति तोक्ने विषयमा छलफल जारी रहेको भन्दै प्रधानले बहुसंख्यक उद्योगी व्यवसायीको माग विशेष साधारणसभा हुनुपर्छ र विधान संशोधन हुनुपर्छ भन्ने रहेकाले आफूहरुले चाहेर पनि रोक्नसक्ने अवस्था नरहेको बताए ।

उनले महासंघभित्रको छलफल नेतृत्वको विवाद नभएर नेतृत्वले तलको कुरा सुन्नुपर्छ, उनीहरुको समस्यालाई सम्बोधन गर्नुपर्छ भन्ने मुल कुरा हो भन्दै कुनै व्यक्तिलाई हेरेर नभई समग्र निजी क्षेत्रलाई हेरेर नेतृत्वले काम गर्नसक्नुपर्ने बताए । मुरारकासहित महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा विधान संशोधनको विपक्षमा छन् ।

अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले आफूले अरुको कुरा पनि सुन्न र आलोचना सहनसक्ने प्रवृत्ति महासंघभित्र हावी हुन खाजेको भन्दै त्यस्ता व्यक्तिबाट आम व्यवसायीको हित हुन नसक्ने बताए । महासंघ सबै उद्योगी व्यवसायीको साझा संस्था हो भन्दै उनले कुनै एक दुई ठूला व्यवसायीले आफ्नो हितलाई मात्रै केन्द्रमा राखेर कुरा गर्ने र यसलाई प्रयोग गर्ने काम गर्न नहुने बताए ।

प्रधान र श्रेष्ठले विधान संशोधन समितिका संयोजकले पदबाट राजीनामा नदिएको र दिनुपर्ने जरुरी पनि आफूहरुले नदेखेको बताए । उनीहरुका अनुसार विधान संशोधनको कुरा महासंघमा सबै क्षेत्रको उचित प्रतिनिधित्वको लागि हो र महासंघलाई अझ बलियो बनाउनका लागि हो भन्दै यसलाई गलत अर्थमा ब्याख्या गरेर प्रचार गर्न नहुने बताए ।

प्रधान र श्रेष्ठका अनुसार महासंघको कार्यकारिणी समितिले नै विधान संशोधन समिति बनाएको र समितिले म्याण्डेट दिएअनुसार काम गरेको भन्दै यसमा कसैले आपत्ति जनाएर विशेष साधारणसभा हुनहुन्न, विधान संशोधन ठिक छैन्, नभए नोट अफ डिसेन्ट लेख्छु भन्नु तर्कसंगत नभएको बताए ।

Advertisement

Advertisement

Advertisement