काम नगर्ने आयोजना प्रमुखलाई हटाउन दुई बर्ष कुर्नुपर्छ भन्ने छैन्ः पुन

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारले कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको र जनअपेक्षा पूरा गर्न आफू पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायले पनि परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् ।

उर्जा मन्त्रालयको तेस्रो चौमासिक एवं बार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बिहिवार पुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिए ।

उनले सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पूरा गर्न मातहतका निकायलाई निर्देशन दिए । पुनले भने, ‘अब प्रक्रिया मात्र भनेर हुँदैन्, तपाईंहरुले तालिका बनाएर नै काम गर्नुपर्यो । सरकारले अघि सारेको कामलाई सफल पार्नु हामी सबैको दायित्व हो ।’

आफू झण्डा हल्लाउन मात्र मन्त्री नभएको भन्दै पुनले काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी दिए । उनले भने, ‘काम नगर्ने हो भने पद ओगटेर मात्र बस्न कसैलाई पनि छुट छैन्, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन, सचिव र मन्त्री पनि पदमा टिक्नैपर्छ भन्ने छैन् ।’

पुनले अब काम नगर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै हरेक महिना मन्त्रालयमा समीक्ष्ाँ बैठक राखेर कामको प्रगति विवरण लिने बताए ।

उनले भने, ‘चिनेका साथीभाई हुन्, काम गरिहाल्छन् नि भनेर मैले भन्ने अवस्था छैन् । परिणाम नदिने हो भने मैले विकल्प खोज्नुपर्ने हुन्छ ।’ पुनले अधिकृतभन्दा माथीका कर्मचारीलाई सचिव, मन्त्री वा विभागीय प्रमुखले मन पराए पनि नपराए पनि काम परिभाषित गरेर जिम्मेवारी दिन मातहतका अधिकारीहरुलाई निर्देशन दिए ।

कागजमा निर्देशन दिने र प्रगती देखाउने प्रवृतिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै उनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर कामकार्वाही बुझ्न र परिणाममुखी काम गर्न उनले सम्बन्धीत कार्यालय प्रमुखहरुको ध्यानाकर्षण गराए ।

Advertisement

Advertisement

Advertisement