राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप

Advertisement

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ बाट यस आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । उत्पादित विद्युत् अहिले केन्द्रीय प्रसारण लाइनमा धमाधम प्रवाह भइरहेको छ । २२.१ मेगावाट लक्ष्यको तल्लो हेवाको अहिलेको वास्तविक उत्पादन २२.३४ मेगावाट रहेको प्राविधिकहरुको भनाइ छ । आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेपछि आफूहरु हर्षित भएको आयोजना निर्देशक दीपेन्द्र आङबोले बताए । परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने भएको छ ।

फिदिमस्थित थापाटारको कावेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको सवस्टेशनबाट तल्लो हेवाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाउन थालिएको हो । यस आयोजनाबाट जेठ र मङ्सिरबीचको छ महीनासम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इञ्जीनियर नामेश्वर यादवले बताए । यादवका अनुसार खोलाको पानी घट्ने ‘सिजन’ मङ्सिर–वैशाखको छ महीनाबीचमा १० देखि १२ मेगावाटसम्म उत्पादन हुनेछ । हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भकाएको हो ।

प्रतिसेकेण्ड १६ मिटर क्युविक अर्थात् १७ हजार लिटर प्रवाह हुने पानीको प्रवाहबाट २२.३४ मेगावाट विद्युत् उत्पादन भइरहेको हो । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्न सकिने पानी उपलब्ध रहेको इञ्जीनियर यादवले बताए । नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार २२.३४ मेगावाट मात्र विद्युत् उत्पादन गरिएको यादवले बताए । प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट रु २२ लाखसम्म आम्दानी हुने आयोजनाले जनाएको छ । जलविद्युत् कम्पनीहरुबाट नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट वर्षायामको चार रुपियाँ ८० पैसा र सुक्खायामको आठ रुपियाँ ४० पैसामा विद्युत् खरीद गर्दै आएको छ ।

तल्लो हेवा आयोजना माउन्टेन हाइड्रोपावर लिमिडेटले निर्माण गरेको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो । यसको पाँच हजार ३०० मिटर दूरीको सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ । हेवातिरको इन्टेक फिदिम नगरपालिका–११ नांगिन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारपाको सीमामा बनेको छ । विद्युत्गृह फिदिम–४ को सारन्तामा छ । तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत ७० करोडले बढेको जनाइएको छ ।

नाकाबन्दी भूकम्प आन्तरिक विवादले बीच–बीचमा काम रोकिँदा लागत बढेको आयोजना प्रमुख गणेश सुब्बाले बताए । बैंक ऋणको ब्याजले लागत बढाएको उनको भनाइ छ । विसं २०७४ असारमा सक्ने सम्झौतामा २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो । यो आयोजना निर्माणमा १२ राष्ट्रिय वाणिज्य बैंकहरुको ७० प्रतिशत लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement