रुद्रगंगाले सुरु गर्यो हिमाली क्षेत्रको शुद्ध पानीको व्यवसायिक उत्पादन, निर्यात पनि गरिने

Advertisement

काठमाडौं । रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा ब्राण्डमा प्रशोधित पानीको व्यवासायिक उत्पादन गरी बजारमा ल्याएको छ । गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएको यो पानी शुक्रबार खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले सार्वजनिक गरेकी हुन् ।

नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गङ्गाले रसुवाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रिङ वाटरको व्यवसायिक उत्पादन सुरु गरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका वडा नं. ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारीले जानकारी दिए ।

भण्डारीले जर्मन प्रविधि र अत्याधुनिक मेसिनको प्रयोग गरेर अटोमेटेड बोटलिङ भई पानीको उत्पादन भइरहेको बताए । उनका अनुसार कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखेको छ । नेपाली बजारमा तुरुन्त र खाडी मुलुकहरूमा मंसिरपछि (आउँदो डिसेम्बरसम्म)मा पानी निर्यात गरिने भण्डारीले बताए।

हाल कम्पनीले ३३० मलिलिटर, ५०० मलिलिटर, १ लटिर र १८ लिटरका बोटलमा पानी बजारमा ल्याएको छ । कम्पनीले पानीको मूल्य भने सार्वजनिक गरेको छैन । साउनको अन्तिम सातादेखि पानी बजारमा लैजाने तयारी भएको र मूल्य निर्धारणको लागि काम पनि भइरहेको भण्डारीले बताए ।

दुई वर्ष अघिदेखि निर्माण शुरु भएको रसुवा पानी उद्योग २०७६ बैशाखमा निर्माण सम्पन्न भएको हो । उद्योग स्थापना गर्ने क्रममा १० करोड रूपियाँ लगानी भएको र बजारीकरणको क्रममा थप पाँच करोड रूपियाँ लगानी गर्न लागिएको उनले बताए ।

काठमाडौँबाट १७० किलो  मिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्नेछ । उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिव ७० जनाले रोजगार पाएका छन् ।

रसुवाको पानी तत्कालै देशभरका बजारमा पुग्ने र जापान, हङकङ र चीन पनि पठाइने जनाइएको छ । आगामी दिनमा युरोप, अमेरिका, अष्ट्रेलियालगायत विश्वभर नै बजार विस्तार गर्ने लक्ष्य रहेको भण्डारीले बताए ।

कार्यक्रममा मन्त्री मगरले नेपालको पानी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा लाने सरकारको लक्ष्य रहेको बताइन् । उनले रसुवाको पानी पनि बजारसम्म ल्याईपुर्याउन सहज नभएको र धेरै चुनौतिको सामना गर्नुपरेको बताईन् ।

मगरले हिमाली क्षेत्रको सफा पानी बजारमा ल्याउँदा जनताले पनि स्वच्छ पानी पिउन पाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा जाँदा देशको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने बताइन् । उनले भनिन्, ‘यो पानीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सकोस ।’ उनले सरकारले पनि नीति तथा कार्यक्रममा पानीलाई प्राथमिक बजारमा मात्र नभर्इ अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री गर्ने योजना रहेको बताइन् । पानीको बजारीकरण गर्नको लागि कम्पनीले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्राण्ड एम्बास्डर बनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा लैजाने भएकोले पानीको बोटलको डिजाइन, लेबलिङ उच्चस्तरको बनाएको कम्पनीले जनाएको छ । कम्पनीले लोपोउन्मुख जनावर रेडपाण्डा संरक्षणमा सहयोग गर्ने भन्दै पानीको बोटलमा रेडपाण्डाको तस्विर राखेको बताएको छ । सफा बोटलको भित्र गोसाइँकुण्डको ताल र पृष्ठभूमिमा हिमाल देखाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाली उत्पादन निर्यात गर्ने काम निकै कठिन भएको बताए । विश्वमा नै पानी कम हुँदै गएकोले यहाँको पानीलाई अघिकतम् परिचालन गर्नुपर्ने उनको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अब आर्थिक समृद्धि बढाउन र व्यापार घाटा कम गर्न पानीको निर्यात नै उपयुक्त हुने बताए। उनले भने, ु१५ खर्बको घाटामा गएको देशलाई पानीको निर्यातले केही भए पनि राहत मिल्छ, यदि हामीले अन्तर्राष्ट्रियस्तरमा पानी लैजान सक्यौं भने ।

Advertisement

Advertisement

Advertisement