त्रिविको भिसीका लागि व्यापक लबिङ, दलसम्वद्ध प्राध्यापकहरु नेताहरुको दैलो चाहार्दै

Advertisement

काठमाडौं । मुलुकमा सञ्चालित ११ विश्वविद्यालयमध्ये सातवटामा उपकुलपति, रेक्टर र रजिष्ट्रारलगायत पद भदौ ५ देखि असोज ५ गतेभित्र खाली हुँदैछन्। साउन ५ देखि त्रिवि सेवा आयोगका अध्यक्षको पद खाली भइसकेको छ। पद खाली हुन लागेसँगै विश्वविद्यालयको उपकुलपति बन्न राजनीतिक पार्टीनिकट भातृसंगठनआबद्ध प्राध्यापकहरूले शक्तिकेन्द्र धाउँदै उपकुलपति कसलाई बनाउने भन्नेबारे लबिङ थालेका छन्। विश्वविद्यालयको शैक्षिक प्राज्ञिक उन्नयनभन्दा पनि पार्टी र नेताहरूलाई कसले कति धेरै आर्थिक सहयोग गर्न सक्छ उसलाई नै विश्वविद्यालयको उपकुलति बनाउन विश्वविद्यालयका शिक्षक नेताहरू कुम्लो बोकेरै मैदानमा दौडिरहेको देख्दा विश्वविद्यालयका प्राध्यापकहरू नै क्षुब्ध बनेका छन्।

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृति विश्वविद्यालय, पोखरा विश्वविद्यालयका, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू खाली हुने क्रममा छन्। हाल दलनिकट प्राध्यापक संगठनहरू उपकुलपतिको सिफारिसका लागि नाम लिस्ट नै बोकेर शीर्ष नेताहरूको दैलो चहारिरहेका छन्। नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले प्राध्यापकहरू नै राम्रो र विश्वविद्यालयको हितभन्दा पनि आफ्नो मान्छे उपकुलपति बनाउन दौडधूप गरिरहेको देख्दा आफू क्षुब्ध बनेको बताए।
विश्वविद्यालयको उपकुलपतिमा सिफारिस हुनेहरू सबै प्राध्यापक संगठनका अध्यक्ष, महासचिव तथा सदस्य नेताहरू नै रहेका छन्।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पद भदौ ५ गते खाली हुँदै छ। यो विश्वविद्यालयको उपकुलपति पदमा गणेशमान गुरुङ, सुधा त्रिपाठी, राजेन्द्रध्वज जोशीको नाम बाहिर आएको छ। गुरुङ एमालेनिकट हुन्। विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष गुरुङ पूर्वसांसद पनि हुन्। त्रिपाठी हाल त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष हुनुका साथै पूर्वमाओवादीनिकट प्राध्यापक संगठनआबद्ध छिन्। राजेन्द्रध्वज जोशी एमालेनिकट मानिन्छन्।

त्रिवि सेवा आयोगको अध्यक्षमा पेशल दाहालको नाम लबिङ हुँदै छ। उनी एमालेनिकट हुन्। दहाल दुईपटक सेवा आयोगको सदस्य भइसकेका छन्। नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पदका लागि प्रगतिशील प्राध्यापक संगठनले यादव लामिछानेको नाम छलफलमा ल्याएको छ। लामिछाने पूर्वएमालेनिकट प्राध्यापक संगठनका अध्यक्ष हुन्।

एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनका पूर्वअध्यक्ष विजय सिलवाललाई भने सुदूरपश्चिमाञ्चलको उपकुलपति बनाउन दबाब दिइएको छ। पूर्वमाओवादीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका संयोजक रमेश भट्टराइलाई भने पोखरा विश्वविद्यालयको उपकुलपति बनाउने लबिङ भइरहेको छ। पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको नाम प्रस्तावित दबाब–सूचीमा छ।

‘कुटुरो बोकेर दुई हात फैलाउँदै घुडा टेकेर कसैले उपकुलपतिको पद माग्छ भने त्यसलाई दिनुहुँदैन,’ नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर अधिकारीले भने, ‘विश्वविद्यालयमा प्राज्ञिक व्यक्तिको साटो पार्टीलाई सहयोग गर्नेलाई व्यक्तिलाई पद दिने थिति बस्यो भने विश्वविद्यालयको गरिमा नै सिद्धिन्छ। ’

त्रिविका प्राडा टंकनाथ धमलाका अनुसार राजनीतिक दलका कार्यकर्ता पदाधिकारी नियुक्ति गर्ने परम्पराले विश्वविद्यालयको गरिमा क्रमशः सिद्धिदै गएको छ। उनले अब राज्यका प्रमुख व्यक्तिहरूले विश्वविद्यालयको हित हेरेर पदाधिकारी नियुक्ति गर्नुपर्ने बताए। ‘हाल जति पनि नामहरू विश्वविद्यालयका उपकुलपतिका लागि सुनिएको छ ती सबै संगठनका अध्यक्षदेखि केन्द्रिय सदस्य नेताहरूकै छ,’ प्राडा धमलाले भने,’ ‘विगत चार वर्षको अनुभवमा हाम्रा कुनै पनि विश्वविद्यालय विवादरहित काम गर्न नसक्नुको मुख्य कारणै नेताहरूले खल्तीबाट आफ्नो मान्छे पदाधिकारी नियुक्त गर्ने चलनले गर्दा हो। ’ अब चार वर्षभित्र विश्वविद्यालयलाई राम्रो बनाउने स्पष्ट दृष्टकोण भएको, शिक्षक–विद्यार्थीको हितमा आफूलाई समर्पित गर्ने, दक्ष पदाधिकारी प्राज्ञहरूबीचबाटै नियुक्ति हुनुपर्ने र यसबारे सहकुलपति तथा हाल भइरहेका कुलपतिले विशेष ख्याल राख्नुपर्ने उनको सुझाव छ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव पूर्ण लामिछानेले हाल पार्टीभित्र उपकुलति बनाउनेबारे छलफल भइरहेको भए पनि खासै ठोस टुंगो नलागेको बताए। ‘पार्टी अध्यक्ष कमरेड प्रचन्ड विदेशमा हुनुहुन्छ,’ लामिछानेले नागरिकसँग भने, ‘उहाँ आएपछि हामी बसेर योग्य र दक्ष व्यक्तिलाई विश्विद्यालय हाँक्ने जिम्मेवारी दिन सुझाउने छौं। एउटै व्यक्तिलाई दोह(याइतेह(याइ दिनुभन्दा नयाँ र विश्वविद्यालको हित गर्ने प्राज्ञिक व्यक्ति पदाधिकारी हुनुपर्छ भन्ने हाम्रोा मान्यता छ। ’

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उदयकिसोर तिवारीले नेताहरूको खल्तीबाट विश्वविद्यालयमा पदाधिकारी नियुक्त हुने विकृत परम्परा रोक्नुपर्ने बताए। उनले हाल पूर्वएमाले र पूर्वमाओवादीबीचै उपकुलपति नियुक्तिको सवालमा ताानातान रहेको पनि बताए। उनले संगठनभित्रै गुटउपगुट खडा भएर खुलेरै लबिङ गरिरहेको पाइएको उको भनाइ छ। उनले विश्वविद्यालयको उन्नयन गर्ने प्राज्ञिक व्यक्तिहरूमध्येबाट योग्यता र क्षमताको आधारमा पदाधिकारी नियुक्ति हुनुपर्ने उनको सुझाव छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement